निजगढ,२२ जेठ / अबैध रुपमा खोला उत्खनन गर्ने स्काभेटरको चाबी नियन्त्रणमा लिइएको छ । निजगढतर्फ ६ र कोल्हवीतर्फ एक वटा स्काभेटरको चाबी खोसिएको छ । चाबी नियन्त्रणमा लिइएका स्काभेटरको सम्बन्धमा जिल्ला अनुगमन समितिको बैठक बसेर सार्वजनिक गर्ने छ ।
जिसस बाराका प्रमुख नवलकिशोर सिंहले बकैया पुल उत्तर र दक्षिण दुवैतर्फ अनुगमन गरिएको जानकारी दिए । अनुगमन नगर्दा आलोचना जिल्लाको टोली शनिबार नदी उत्खननका लागि निस्केको थियो । टोलीले बालगंगा र दुधौरा खोलाको अनुगमन गरे पनि निजगढमा आइपुगेको टोलीले बकैया खोलाको भने अनुगमन नगरी फर्किएको थियो ।
अनुगमन गर्न आएको टोली इलाका प्रहरी कार्यालय निजगढको छेउमै रहेको एक होटलमा खाना खाएर फर्किएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
टोलीमा जिसस बारा सभापति सिंह, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख कृष्ण पंगेनी र सशस्त्र प्रहरी प्रमुख दिग्विजय सुवेदीलगायत थिए ।
सुदिपा ट्रेडर्सको सञ्चालक शंकर न्यौपानेले १० करोड ७७ लाख ७७ हजार रुपैयाँमा ठेक्का पाएको सो नदीमा पनि पटक–पटक मापदण्डविपरीत उत्खनन भए पनि कारबाही नभएको गुनासो आएको थियो ।
वातावरणीय प्रभाव मूल्यांकनविपरीत उत्खनन् भइरहँदा स्थानीय तहले कारबाही गर्न सकेका छैनन् ।
जिसस टोलीले प्रभावकारी अनुगमन नगर्दा बकैया पुल उत्तरपट्टिको ड्याम भत्किई गाउमा खोला पस्ने खतरा बढेको भन्दै स्थानीय त्रसित बनिरहेका छन् । जिल्ला समन्वय समिति र जिल्ला सुरक्षा समितिलाई ठूलै रकमको प्रलोभनमा पारी ठेकेदार कम्पनीले चलखेल गरेर अनुगमन हुन नसकेको आरोप लागेको थियो ।
अनुगमनको पहिलै सूचना जिल्लाबाट अनुगमन टोली आउनेबारे पहिल्यै सूचना बाहिरिने गरेको पाइएको छ । निजगढमा खोला उत्खननको निरीक्षण गर्न प्रशासकहरु आउनुअघि नै सबैलाई सूचना हुने भएकाले खोलामा सञ्चालित स्काभेटर, टिपर र ट्रयाक्टर निकालिने गरिएको छ ।
नियमसम्मत र प्रक्रियागत आवश्यकताका आधारमा सञ्चालन गरिएको भए किन खोला खाली गरिन्थ्यो भनेर स्थानीयले प्रश्न गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here