चन्द्रपुर,३० जेठ / केही बर्ष पहिला चन्द्रपुर नगरपालिकाका बिभिन्न स्थानमा हालिएका शोलार बत्ति बल्न छाडेको छ । नगरपालिकाले लाखौं रकम खर्च गरेर नगरका बिभिन्न स्थानमा हालेको शोलार बत्ति नगरपालिकाकै हेलचोक्राइका कारण बल्न छाडेको स्थानीय बासिन्दाले बताएकाछन् ।
जानकारहरुका अनुसार शोलारको माथिल्लो भाग सफा गर्ने र ब्याट्रीमा पानी फर्ने हो भने चन्द्रपुर नगरपालिकाको सबै वडामा हालिएको शोलार बत्ति बल्छ ।
तर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सो बिषयमा चासो नदिएका कारण समस्या भएको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ४ का वडा अध्यक्ष अमर बहादुर आलेले शोलार बत्ति बाल्नका लागि आफुले प्रयास गर्ने बताए । उनले आफ्नो वडाको कति ठाउमा कति वटा शोलार बत्ति छ ,त्यसको जानकारी लिएर आफुले बत्ति बाल्ने तिर प्रयास गर्ने आलेको भनाइ रहेको छ ।
नगरका बिभिन्न स्थानमा राखिएको शोलार बत्तिको अझै सम्म केही उपभोक्ता समितिले रकम समेत नपाएको कारण समस्या भएको बुझिएको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले शोलार बत्ति बाल्ने तिर आफुले प्रयास गर्ने बताएकाछन् । कोरोनाको महामारीका कारण ध्यान त्यसतर्फ नगएको र अब आफुले सो बिषयमा चासो दिने चौधरीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाको मुख्य चोकमै रहेका शोलार बत्ति बल्न छाडेका छन् भने नगरका अन्य वडाको समेत हालत उस्तै रहेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।