गौर,८ असार । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाएका छन् । शनिवार बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसूग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय मधेशी जनभावना विपरीत रहेको भन्दै राज्य मन्त्री यसको कडा विरोध गरेका हुन् । रौतहट निर्वाचन क्षेत्र नं–१ को (ख) प्रदेशसभाबाट प्रदेशसभा सदस्यमा निर्वाचिन प्रदेश सांसद एवं कृषि राज्य मन्त्री यादवले सरकारले मधेशी समुदायप्रति लक्षित गरेर ल्याएको यो विभेदकारी विधेक अविलम्ब फर्ता लिनुपर्ने माग गरेका हुन् ।
राज्य मन्त्री योगेन्द्र यादवले राज्य व्यवस्था तथा सुशासन समितिले संसद्मा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक—पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी र जनचाहना विपरित रहेको बताएका छन् ।
दशकौं देखि समान अधिकारका लागि भएका आन्दोलनहरू तथा ०६३(०६४ सालमा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गलाई अनागरिक बनाउनेतिर लक्षित रहेकोले सो विधेयकको विरोधमा सम्पूर्ण जनता, नागरिक समाज र राजनैतिक पार्टीहरूलाई एकजुट हुन राज्य मन्त्री यादवले आह्वान गरेका छन् ।
सरकारको उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने नेता यादवकोे भनाई छ ।