सर्लाही, १५ असार ।
सर्लाहीमा स्थानीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएका छन् । धनकौल गाउँपालिकामा आइतवार राति भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैको अवस्था सामान्य छ । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।
सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ सयौँ मानिस भेला भएका थिए । त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको प्रहरीले जनाएको छ ।