जनकपुर, १९ असार ।
धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । शुक्रबार विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा झडप भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो । बर्थिङ सेन्टर निर्माणको विषयमा झडप हुँदा २ जना घाइते भएको र उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतका अनुसार दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको छ । बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको एसपी बस्नेतले बताए । भीड तितरबितर बनाउन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पठाइएको छ । शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here