काठमाडौं २५ असार । २५ देखि २८ गतेसम्म प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षकै अत्यधिक वर्षा हुने भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको रहेको जनाएको छ । बैशाखदेखि लगातार वर्षा भइरहेका कारण पहाडी भुभागको माटो गलिसकेकाले त्यस क्षेत्रमा पहिरो जान सक्ने र खोलानाला र खहरेहरुमा बाढी आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दलहरु, संयुक्त राष्ट्र संघीय एजेन्सीहरु, विकास साझेदारहरु, सरकारी ,गैरसरकारी र निजी क्षेत्रसहित सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । शुक्रबारदेखि कन्काई, कमला, कोशी, बागमती, नारायणीसहित अन्य सहायक नदीमा बाढी आउन सक्ने र त्यसले खतरा निम्त्याउन सक्ने प्राधिकरणको चेतावनी छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनका होचो क्षेत्रहरु डुबानको उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here