गौर,२६ असार । ९ वर्षअघि रौतहट सदरमुकाम गौरमा भएको एउटा हत्याकाण्ड, जसको पीडा परिवारजनका लागि अझै ताजै छ । यो घटनामा संलग्नको अझै पत्ता लागेको छैन भने पीडित परिवारले सरकारले दिने भनेको राहत पनि पाएको छैन ।
२०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडमा कुस्ती खेलाडी प्रेमपुर गोनाही– १ का ५० वर्षीय उपेन्द्र दास बैरागी (यादव) को गोली हानी हत्या गरिएको थियो । राति सवा आठ बजे लोडसेडिङको मौका छोपेर उनीमाथि नचिनेका मानिसहरुले गोली हानेका थिए । बैरागीको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती खेलमा कास्यपदक जिताएका बैरागीलाई सरकारले गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मान गरेको थियो । बैरागीले पाएका ती पदक र प्रशंसापत्रहरु अझै पनि परिवारजनले सुरक्षित राखेका छन् । यी सामग्री श्रीमती रामकुमारी देवी र दुई छोरालाई अभिभावक सम्झाउने र घटना ताजा बनाइराख्ने प्रमाण बनेका छन् । खेलाडीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्यतिबेला धेरै प्रदर्शन पनि भए । मृतकलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति दिने भनेर सरकारले प्रतिवद्धता जनाए पनि ९ वर्षसम्म पाउन सकेको छैनन् । हत्याको आरोपमा गोनाही ४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ परेका थिए तर उनीहरुको संलग्नता नदेखिएको भन्दै प्रहरीले रिहा गरेको थियो । प्रहरीले घटनाको राम्ररी अनुसन्धान नगर्दा हत्याराहरु पक्राउ नपरेको परिवारजनको आरोप छ । ‘घरमूली गुमाएको ९ वर्ष भयो, हामी बेसहरा छौं । न हत्यारा पत्ता लगाएर कारबाही ग¥यो, शहीद घोषणा र राहत समेत पाएको छैन’ पत्नी रामकुमारीले भनिन् ।
खेलाडीलाई देशको गहना भने पनि खेलाडीका परिवार अन्यायमा परेको वर्षौ बितिसक्दा राज्यले केही गर्न नसकेको उनले बताइन् । दुर्घटनामा मृत्यु भएका व्यक्तिसमेत पहुँचकै आधारमा सजिलै शहीद घोषणा हुने तर देशको लागि जीवन बिताउने खेलाडीलाई भने अझै शहीद घोषणा नगरिएको र परिवारलाई राहतको व्यवस्था हुन नसकेको रामकुमारी बताउँछिन् । युवा तथा खेलकुद मन्त्रालयले ९ वैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागि १० लाख रुपैयाँ दिन अर्थ मन्त्रालयको सहमति माग गरेको थियो । तर त्यसपछि यो काम अघि बढेन ।