चन्द्रपुर,२९ असार / संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग उठेको छ ।
जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा बसेको पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले सरकार चलाउन नसकेको र बजेटलाई आफ्नो केन्द्रित गरेको भन्दै सांसदहरुले राजीनामा मागेका हुन् । सर्लाहीका प्रदेश सांसद अशोककुमार यादवले मुख्यमन्त्री राउत र मन्त्रीहरुले काम गर्न नसकेको भन्दै राजीनामा मागे ।
मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो जिल्ला र पालिकामा मात्रै केन्द्रित भए । फुटकर र सानातिना योजनामा आखाँ गाँडेका छन् । यसरी प्रदेश सरकार चल्न सक्दैन, दलको बैठकमा सांसद यादवले भने, तपाईंहरु सरकार चलाउन सक्नु भएन ।
राजीनामा गर्नुस् । अर्को टिमले सरकार चलाउँछ । प्रदेश सरकारले अहिलेसम्म तीनवटा आर्थिक वर्षको बजेट चलाइसक्यो । प्रदेशमा कहाँ र कुन ठाउँमा प्रभावकारी विकास भएको छ, देखाइदिनु प¥यो, सांसद यादवले बैठकमा भने, मन्त्रीहरु आफ्नै स्वार्थमा लागेका छन् । बजेट जति आफ्नै पालिका र क्षेत्रमा खन्याएका छन् । जति भनेपनि सुध्रिनु भएन । अब राजीनामा गर्नुस् ।
प्रदेश २ मा समाजवादी पार्टीबाट मुख्यमन्त्री राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सरकारमा छन् ।
सांसद यादवले संसदीय दलको बैठकमा सरकार र मन्त्रीहरुको काम–कारबाही प्रभावकारी नभएको भन्दै आलोचना गरिएको बताए ।
धेरै सांसदहरुले सरकारका मुख्यमन्त्री र मन्त्रीहरु आफ्नै लयतालमा रहेकाले प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना गरे, सांसद यादवले भने, काम गर्न सक्नुहुन्न भने बाटो खुल्ला गर्न भनिएको छ ।
प्रदेश सरकारको नेतृत्व गरेको ३ वर्ष नबित्दै सत्तासिन दलमा असन्तुष्टि चुलिएको छ ।
संसदीय दलको बैठकमा सांसद पारस साह, करिमा बेगम, सञ्चमाया मोक्तान लगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले पनि मन्त्रीहरुको कार्यशैलीप्रति रोष प्रकट व्यक्त गरेका छन् ।
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपनि प्रदेश २ मा यी दुई दलकै संयुक्त सरकारले छुट्टाछुट्टै संसदीय दल अझै कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here