प्रधानमन्त्री ओलीविरुद्ध साधुसन्त पनि प्रदर्शनमा

जनकपुरधाम- भगवान रामको जन्म सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको विवादित अभिव्यक्तिपछि चौतर्फी आलोचना खेपिरहेका बेला जनकपुरधाममा उनीविरुद्ध प्रदर्शन भएको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओलीकोबिरुद्ध विभिन्न नारा लगाउँदै साधुसन्तसहित सर्वसाधारणले प्रदर्शन गरेका हुन।
भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत नभइ नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताएका थिए।

बुधबार भगवान रामको ससुराली जनकपुरधाममा हिन्दू परिषद् नेपालले प्रधानमन्त्रीले बोलेको शब्द फिर्ता लिनुपर्ने भन्दै चर्को विरोध गरेको हो। विरोध प्रदर्शनमा हिन्दू परिषद नेपाल जनकपुर नगर कमिटीका अध्यक्ष मिथिलेश झाले धर्मको बिषयमा राजनीति गर्न नहुने बताए। उनले भने, ‘वैदिक र सांस्कृतिक रुपमा ओलीले विश्वका करोडौ हिन्दूहरुको आस्थामाथि सांघातिक हमला हो। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ। नत्र थप आन्दवलन चर्काउनेछौ।’
यस्तै यता रामनन्दीय वैष्णव संघले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्या सरयुग नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको उल्लेख गरेको छ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति नेपाल र भारतको पुरानो ऐतिहासिक सम्बन्ध समेत प्रभावित भएको र उक्त अभिव्यक्ति स्वयं प्रधामन्त्रीलाई फिर्ता लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जानकी मन्दिरमा छलफल हुन लागेको छ । मन्दिरका महन्थ रामतपेस्वर दास वैष्णवले जनकपुरधामका नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतसंग विमर्श गर्न बैठक डाकेको बताए । आजको बैठकले ठोस निर्णय गरेर आन्दोलन सम्मको कार्यक्रम ल्याउन लागेको बताइएको छ। देश सञ्चारबाट