ओम प्रकाश यादव
रौतहट, साउन ४ गते । प्रदेश २ का एक मन्त्री सहित प्रशासनको टोलीले शनिवार बेलुका रौतहटको बागमति नदीको बाँधको अनुगमन गरेका छन । प्रदेश २ सरकारका गृह एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योेगेन्द्र यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी उपरीक्षक रविराज खडका, पत्रकार सहितको टोलीले बागमति नदीले कटान गरिरहेको र कटानको उच्च जोखिममा रहेका बाँधहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन । मन्त्री सहित सुरक्षा निकायको टोलीले शनिवार साँझ ५ बजेको समयमा जिल्लाको पुर्वी भेग स्थित रहेको बागमति नदीको धर्मपुर, माधोपुर, पिपरा रजवाडा र बसतपुर घाटको अनुगमन गरेका छन । लगातारको वर्षापछि केहि दिन अघि मात्रै बागमति नदीमा आएको बाढीले बसतपुर घाट स्थित ठोक्कर तिव्र गतिमा कटान गरेको थियो भने माधोपुर र पिपरा रजवाडा घाटको बाँध कटान हुने स्थितीमा आईपुगेको छ । नदीमा पानीको जलस्तर अहिले धेरै कम भएको कारण उक्त ठाउँहरुको बाँध थप कटान हुनबाट अहिले तत्कालको लागि रोकिए पनी अब नदीमा एउटा बाढी आयो भने माधोपुर, पिपरा रजवाडा घाटको बाँध पुरै कटान गरी बाढीको पानी गाउँ बस्तीमा पस्ने र ठुलो जनधनको क्षति पुरयाउन सक्ने जोखिमलाई मध्य नजर गर्दै गृह तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादव सहितको टोलीले शनिवार उक्त बाँधको निरीक्षण गरेका हुन ।