सर्लाही ४ साउन ।
नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
रामनगर गाउँपालिका वडा नम्बर–४ स्थित बहुअर्वाका ६० वर्षीय रामजनम भनिने रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको छ । अदालतको आदेश नुसार नै वडाध्यक्ष महतोलाई गत शुक्रबार नै गौर कारागार चलान गरिएको छ ।
नेता रामजलको गत असार ७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उनको हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।
रामजलको हत्यापछि उनको परिवारले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोसहित ९ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी परेका मध्ये ८ जना अझै पनि फरार छन् । नेता रामजलको हत्यापछि नेकपा र काँग्रेस एक–अर्का विरुद्ध पटक–पटक विरोध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा दुवै पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झडप हुँदा प्रहरीसहित करिब दुई दर्जन जति घाइते भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here