वीरगंज ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट ८० हजार रुपैयाँ घूस रकमसहित दुई जनालाई पक्राउ गरेको छ। एक जना सब इन्जिनियर र उनका सहयोगीलाई पक्राउ गरेको हो । आयोगको हेटौडा क्षेत्रीय कार्यालयबाट आएको टोलीले आइतबार साँझ उनीहरूलाई कलैयाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका उनका सहयोगी चन्दन जैसवाललाई कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट हिरासतमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । नदी तटबन्धको जाली लगाउने कार्यमा भुक्तानी गरिदिएबापत जैसवालले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस रकम माग गरेको आयोगले जानकारी दिएको छ । सेवाग्राहीसँग ८० हजार घूस लिएको रकम सब इन्जिनियर जैसवालले आफ्ना सहयोगीलाई दिएर भाग्न खोज्दा अख्तियार टोलीले दुवैलाई पक्राउ गरेको हो ।