सर्लाही,९ साउन । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम बढेको छ ।
रौतहटमा पर्ने धन्सार खोला देखी सर्लाही सम्मको सडकको बिच बिचमा खाल्डा खूल्डी रहेका कारण दुर्घटनाको खतरा बढ्दै जान थालेको सर्बसाधारणको भनाइ रहेको छ ।
३२ किलोमिटर रहेको सर्लाही खण्डको अधिकांश भागमा साउनको पहिलो साताबाट निरन्तर वर्षा भएकाले पहिल्यैदेखि बनेका स–साना खाडल पनि बढेर ठूला बनेका छन् ।
जसका कारण पूर्वपश्चिम राजमार्गको कालोपत्रे उप्किँदा सडक नै जीर्ण बनेको छ । जिल्लाको पूर्वी सिमाना बाँकेदेखि पश्चिम बागमती सडक खण्डका सैयौं स्थानमा ठुल्ठूला खाडल बनेका छन् । वर्षाले सडक खराब भएपछि सवारी सञ्चालनमा समस्या भइरहेको चालकहरूले गुनासो गरेका छन् । खाल्डाखुल्डीका कारण जिप, टेम्पो, अटो मोटरसाइकल, कारलगायत सानाठूला सवारी साधन दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादवले तराई एक्सप्रेसलाई जानकारी दिए ।
राजमार्गमा बनेको खाल्डोले तीव्र गतिमा चलाइएका सवारी बढी जोखिममा पर्ने गरेका र रातको समयमा झनै बढी जोखिम हुने प्रहरीे निरीक्षक यादवले बताए ।
राजमार्गमा बनाइएका कालोपत्रे पुरानो भइसकेकाले पानी परिरहेको समयमा सवारी साधन गड्दा उप्किने समस्या बढ्दै गएको प्राविधिकहरू बताउछन् ।
यता धन्सार देखी बागमती सडक खण्ड र त्यसमा पर्ने पुलका बिच भागमा खाल्डा हुदा समेत सडक बिभागले चासो नदिएको सवारी चालकहरुको भनाइ रहेको छ ।