जनकपुर,१० साउन / प्रदेश २ सरकारले भदौ १ गते देखि विद्यालय खोल्ने र कक्षा सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालेको छ ।
त्यसका लागि स्थानीय सरकारसंग परामर्श र समन्वय भईरहेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारसंग कोरोना सम्बाद कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र कुमार यादवले विद्यालयमा रहेका क्वारेन्टाईन साउन भित्रमा हटाईसक्ने र निसङ्क्रमण गरेर भदौ देखि पठनपाठन शुरु गर्ने विषयमा छलफल भईरहेको बताएका छन् ।
उनले प्रदेशका कतिपय ठाउ“मा अनलाईन कक्षा प्रभावकारी नदेखिएका कारण कोरोना सक्रमण नभएका स्थानमा पठनपाठन सुचारु गर्न लागिएको बताईएको छ । मन्त्री यादवलाई प्रदेश २ का विभिन्न जिल्लाका बालबालिकाले क्वारेन्टाईन बालमैत्री नभएको, बालविवाह बढेको, बालश्रम शोषण नरोकिएको भन्दै प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री यादवले क्वारेन्टाईन व्यवस्थापनमा भएको कमजोरी स्वीकार्दै, आगामी दिनमा सुधार गरिने बताए । त्यसका लागि स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय गर्ने उनको भनाई छ ।
साथै बालविवाह र बालश्रम शोषणको अन्त्यका लागि प्रदेश नम्बर २ सरकार गम्भीर रहेको पनि उनले बताए ।
बालविवाहको विषयमा प्रदेश सरकारले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै विगतमा बालविवाहमा संलग्न जनप्रतिनिधीलाई समेत कारबाही गरेको नजिर रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री यादवको भनाई छ । बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकारले कानुन निर्माणको काम समेत गरिरहेको उनले बताएका छन् । कोरोना महामारीका कारण प्रभावित बनेका बालबालिकाको विषयमा सरकार गम्भीर रहेको र स्थानीय सरकारसंग मिलेर उनीहरुको हितमा काम गरिहेको मन्त्री यादवको भनाई छ ।
प्रदेश २ को महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राईनले साउन महिना भित्रै बालबालिकाको अधिकार सम्बन्धी विधेयक ल्याउने तयारी भईरहेको बताए । जुन विधेयक अहिले समितिमा छलफलको क्रममा छ ।
स्थानीय सरकार प्रमूखहरुले भने कोरोना नियन्त्रण, रोकथाम र बालअधिकार संरक्षणको विषयमा प्रदेश सरकारसँग ठोस समन्वय हुन नसकेको बताएका छन् ।
छलफल क्रममा प्रदेश नम्बर २ मा मानव अधिकार र बालअधिकारको अवस्था कमजोर रहेको भन्दै सहभागीहरुले प्रश्न उठाएका थिए । प्रदेश २ मा लकडाउनको शुरुको दूई महिनाको अवधीमा ४६ वटा बलात्कारका घटना, दुईवटा बालविवाह, ७८ वटा घरेलु हिंसाका घटना भएको मानव अधिकारको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।