गरुडा,१२ साउन / निजी स्तरबाट संचालित देशकै सबैभन्दा ठुलो रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । झण्डै बिस बर्ष पहिला रौतहटको गरुडा बजारमा स्थापना भएको उद्योग बन्द भएको हो ।गोल्छा समूहले सूचना जारी गर्दै महमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएसंगै मिल बन्द हुने भएको हो । मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो । किसनले मिल संचालक बिचको भुक्तानी बिवादमा तानिदै आएको सो मिल अन्तत बन्द हुने भएको हो । विविध कारणले किसानको उखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं रुपैया नोक्सानी बेहोर्नु परेको सूचनामा उल्लेख गरिएको छ । हरेक वर्ष नोक्सानीमा गइरहेको कम्पनीको आर्थिक वर्ष ०७५÷७६ सम्ममा कुल घाटा २ अरब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैया पुगेको श्रीराम सुगर मिल्सले जनाएको छ ।यस आर्थिक वर्षमा मिलले १३ दिन मात्रै उखु क्रसिंङ गरेको थियो । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखिको तलब तथा संचयकोषको रकमसमेत दिन सकेको छैन । नगदे बालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैया भुक्तानी दिन बाकी रहेको उखु उत्पादक सघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । मिलले अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाकी छ ।
आइतबारदेखि उद्योग बन्द भएको जानकारी गराउदै मिलले तिर्नु पर्ने कर्मचारीहरुको सबै किसिमको तलब भता क्रमशः भुक्तानी गर्दै जाने जनाएको छ ।उखु किसानहरुको बँकी रकम भुक्तानीका लागि मिलको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसंग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको मिलले जनाएको छ । सम्बन्धित निकायबाट आवस्यक अनुमति प्राप्त हुनासाथ उद्योगको सम्पत्ति बिक्री गरेर कार्यरत श्रमिक, कर्मचारी तथा उँखु किसानहरुलाई प्राथमिकताका साथ भुक्तानी दिदै जाने मिलले जनाएको छ ।
२०७७ साउन १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।