रौतहट २२ साउन । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोरोना संक्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ संक्रमित थपिएका छन् । साउन ६ गतेसम्म कुल संक्रमितको संख्या चार हजार २६४ रहेकोमा अहिले संक्रमितको संख्या पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो । प्रदेशमा हालसम्म संक्रमणबाट १९ जनाको ज्यान गइसकेको छ । साउन ७ गतेयता संक्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दैछन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमवार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मंगलवारदेखि जिल्लाभरमै लागू गरेको छ ।

सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिन अघिदेखि नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले बुधवारदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

यस्तै रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाईनै सटडाउन गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार रौतहट जिल्ला २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा सटडाउन गरिने भएको छ । रौतहटमा हालसम्म एक हजार २५९ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ संक्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र संक्रमित बढेका छन् । लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, भौतिक दूरीको ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि संक्रमणको थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी संक्रमण जोखिममा देखिएका छन् ।

यसैबीच प्रदेश नं २ सरकारले कोरोना संक्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पीसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here