वीरगञ्ज २५ साउन । समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको पर्सा जिल्लामा सरोकारवाला सक्रिय नरहेको भन्दै स्थानीय युवा नेताहरुले ध्यानाकर्षण गराएका छन् । आईतवार बिहानै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। मदन कुमार उपाध्यायलाई भेट्दै युवा नेताहरुले पिसिआर परिक्षणमा लाग्दै आएको शुल्क खारेज गर्न, पिसिआर परिक्षणको दायरा बढाउन, पिसिआर रिपोर्टमा भइरहेको ढिलाईलाई अन्त्य गर्ने, उपचार नपाएर बिरामी भौतारिर्दै मृत्युको मुखमा पुग्ने अवस्थाको अन्त्यका लागि युवाहरुले ध्यानाकर्षण गराएका छन् । युवा नेताहरुको दबाब र ध्यानाकर्षण पछि मेसु उपाध्यायले अन्य सिकिस्त बिरामीहरुको उपचारका लागि तत्काल ८ बेडको आईसोलेसन वार्ड निर्माण गर्ने प्रतिक्रिया दिएको नेविसंघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलले बताउनुभयो । पिसिआर परिक्षणलाई तिब्रता दिने, छिटो भन्दा छिटो रिपोर्ट सार्बजनिक गर्ने, अन्य बिरामीको व्यवस्थापन कसरी गर्ने लगायतका कार्यहरुबारे पहल चाल्ने मेसु उपाध्यायले बताउनुभयो । विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनका नेताहरुले आईतवार नै पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कीले भेट्ने समय नदिएपछि टेलिफोनमार्फत कुरा गर्दै कोभिड बाहेकका बिरामीलाई उपचार नगर्ने निजि अस्पताललाई कारवाही गर्न माग गरेका छन् । कोभिड १९ नियन्त्रणमा स्थानीय प्रशासनको भुमिका शुन्य देखिएको भन्दै यथाशिघ्र आवश्यक कदम चाल्न आग्रह गरिएको राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिनले बताउनुभयो । टेलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी कार्कीले आफ्ना मागको सम्बोधन गर्ने आश्वासन दिएको संयोजक निजामुद्धिनले बताउनुभयो । मेसु उपाध्याय र प्रमुख जिल्ला अधिकारी कार्की समक्षा आफ्ना मागको सुनुवाईको लागि २ दिने अल्टिमेटम दिएको र तोकिएको समय अवधिभित्र पनि सम्बोधन नभएर सडकमै उत्रिएर आन्दोलन गर्न चेतावनी पनि युवा नेताहरुले दिएका छन् ।ध्यानाकर्षण गराउने टोलिमा ईश्वर यादव , एजाज आलम , जुबेर आलम , मिरोज आलम , बिक्रम आले लगायत नेताहरु सहभागी थिए ।