वीरगंज,२९ साउन । पर्सामा होटल र धर्मशालालाई आइसोलेसन बनाएर कोभिड १९ का संक्रमित राख्न थालिएको छ । वीरगंज र ग्रामिण भेगका पालिकामा कोरोना महामारी समुदाय स्तरमा फैलिँदा कोभिड अस्पताल भरिभराउ भएपछि घरमै अलपत्र परेका संक्रमितलाई सामुदायिक आइसोलसनको अवधारणामा होटल तथा धर्मशालामा राखिएको हो । वीरगंजको बसपार्कमा रहेको रानीपोखरी होटलमा ५० बेडको सेमिआइसोलेसन बनाएको तीन दिनमै ३४ जना बसेका छन्। लक्षण भएका वा नभएका जोकोही पनि होटलमा बस्न पाउने छन्। त्यसको लागि होटल सञ्चालकले नेपाल सरकारसँग तोकिएको शुल्क लिने बताइएको छ। रानीपोखरी होटलमा डा। अजय द्विवेदीको नेतृत्वमा एक जना स्टाफ नर्ससहित तीन जना स्वास्थयकर्मी पनि खटाइएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए। उनका अनुसार समाजिक अभियन्ता दिलिपराज कार्कीको नेतृत्वमा व्यवस्थापन र खानाको व्यस्थापन पनि मिलाइएको छ। यदि कसैको स्वस्थ अवस्था गडबड भयो भने, तत्कालै कोभिड अस्पताल सिफ्ट गरिने तयारी छ। जिल्ला प्रशासन कार्यालय पर्साको समन्वय र नारायणी अस्पतालका चिकित्सको निगरानीमा होटलका सामुदायिक आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको हो। त्यसैगरी, विजय ज्योति होटलमा पनि ९ जना संक्रमित राखिएको छ, वीरगंजको आदर्शनगरमा रहेका राणी सती धर्मशालामा पनि ४१ जना, कलवार धर्मशालामा पर्सा प्रहरीका सुरक्षाकर्मीका ५२ जना, सिद्धार्थ माविमा नेपाली सेनाको लागि ३२ जना संक्रमितलाई सामुदायिक आइसोलेशनमा राखिएको छ । वीरगंजको विभिन्न होटल, धर्मशाला तथा सेमिआइसोलेसनमा २०५ पुरुष, २१ महिला गरी कुल २२६ जना बसेका छन्।