गौर ३० साउन । कोरोना परिक्षणका लागि प्रदेश २ को ८ जिल्ला मध्ये अहिलेसम्म पर्सा र सप्तरीमा मात्रै पिसीआर मेसिन जडान रहेको अवस्थामा अब रौतहटमा पनि पिसीआर मेसिन जडान हुने भएको छ । प्रदेश सांसद एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको विशेष पहलमा रौतहटको जिल्ला अस्पताल गौरमा आधुनिक प्रविधिका पिसीआर मेसिन जडान हुने भएको छ । रौतहटमा पिसीआर मेसिन पहिलो पटक जडान हुन लागेको हो । राज्य मन्त्री यादवको पहलमा केहि दिन अघि मात्रै बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेशमा ३ वटा पिसीआर मेसिन जडान गर्ने निर्णय गरेको हो । तिनवटा मेसिन मध्ये रौतहट, पर्सा र सप्तरीमा गरी एक एकवटा मेसिन जडान गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको हो । अबको १५ दिन भित्रमा ३ वटै जिल्लामा एकैचोटी मेसिन जडान गर्ने निर्णय गरिएको कृषि राज्य मन्त्री योगेन्द्र यादवको जानकारी दिएका छन् । प्रदेश २ का जिल्लाहरुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएकोले थप जोखिम नहोस भनी प्रदेश सरकारले रौतहट सहित तिन जिल्लामा पिसीआर मेसिन जडान गरी शंकास्पद व्यक्तिको पिसीआर टेष्ट गर्ने कार्य सुरु गर्न लागेको हो । आधुनिक प्रविधि सहितको पिसीआर मेसिन र टेक्नीसीयन प्रदेश सरकारले उपलब्ध गराउने छ भन्ने प्रयोगशाला सम्बन्धीत जिल्ला अस्पतालहरुले नै निर्माण गर्ने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले मेसिन जडान हुने रौतहट, पर्सा र सप्तरीका जिल्ला अस्पतालका प्रमुखहरुलाई यथासिघ्र प्रयोगशाला निर्माण गर्न निर्देशन दिसकेको छ । यसैविच कृषि राज्य मन्त्री योगेन्द्र यादव र रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवबीच जिल्लामा पिसीआर मेसिन जडान गर्ने विषयमा छलफल भएको छ । मन्त्री यादवसँग भएको कुराकानी लग्तै प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षतामा विहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला अस्पताल गौरमा पिसीआर ल्याब स्थापना गर्न आवश्यक पुर्वाधार निर्माण गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले प्रयोगशाला निर्माणको लागि बजेट अपुग भइरहेकाले थप बजेटको आवश्यक्ता रहेको बताउएका छन् । प्रयोगशाला निर्माणको लागि कम्तीमा ५० देखी ६० लाखसम्म रुपैयाँ चाहिन्छ तर जिल्ला अस्पतालसंग जम्मा २० लाख रुपैयाँ मात्रै रहेकोले प्रयोगशाला निर्माण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । समाचार दैनिकबाट सभार