युभास श्रेष्ठ
रौतहट, ३ भदौ/ आफ्नो मृत्यु भएका आफन्तको सम्झना मानिसहरुले विभिन्न कार्यहरु गरिरहेका हुन्छन् । उनीहरुले विभिन्न सामुदायिक भवनहरु बनाइदिने, छात्रवृति स्थापना गर्ने , मन्दिर , चौताराहरु निमार्ण गर्ने जस्ता कार्यहरु गरेका हुन्छन् । तर रौतहटका एक युवाले आफ्नी आमाको स्मृतिमा अरुभन्दा पृथक काम गरेका छन् । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६ निवासी देवेन्द्र कुमार चौधरीले आफ्नी मृत आमा स्वर्गिय रधिया देवीको सम्झना ४ हजार विरुवा वृक्षारोपण गरेका छन् । उनले चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको हरियाली सामुदायिक वनको २ नम्बर व्लगको खाली स्थानमा मलेसियन साल तथा जमुनाका विरुवाहरुको वृक्षारोपन गरेका हुन् । उनको सो अभियानलाई वनका पदाधिकारीहरु, स्थानियले पनि साथ दिएर वृक्षारोपणमा सहभागी भएका थिए । दुई महिना अगाडि मृत्यु हुनुभएकि आमाको लागि केही राम्रो र फरक काम गरुँ भन्ने सोचका कारण वृक्षारोपण गरेको चौधरीको भनाइ छ । उनी चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा देव एग्रिकल्चर प्रा।लि। का संचालक समेत रहेका छन् ।
‘खाली स्थानमा रुख रोप्दा एकातिर पर्यावरणको संरक्षण पनि हुन्छ’ उनले भने, ‘अनि हुर्केका रुखहरुले आमाका यादहरुलाई अमर बनाइदिन्छ ।’ उनले आफ्नी आमालाई प्रकृति, वनजंगल र वन्यजन्तुप्रति लगाव भएकाले पनि आफुले आमाको सम्झनामा वृक्षारोपण गरेको बताए । उनले आमाको नाममा जिल्लाका अन्य सामुदायिक वनहरुमा पनि यसरीनै रुखहरु रोप्दै जाने योजना रहेको सुनाए । उनको यो योजनामा उनका बुबा नथुनी प्रसाद चौधरीले पनि साथ दिइरहेका छन् । यसरी मानिसहरुले आफ्ना मृतक आफन्तको सम्झनामा वृक्षारोपन गर्ने योजना ल्याए वनपनि संरक्षण हुने र आफन्तको स्मृति रुखसँगै सयौँ वर्षसम्म पनि रहिरहने हरियाली सामुदायिक वनका अध्यक्ष धन बहादुर प्रसाइको भनाइ छ ।