जनकपुर ४ भदौ । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो । बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थासँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई सङ्घीय सरकारले तोकेको दर उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।