जनकपुर, ७ भदौ । शनिबार प्रदेश २ मा २५ महिलासहित थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनुषामा २१, महोत्तरीमा २४, सिरहामा ३४, बारामा ३५, पर्सामा ५७, सर्लाहीमा ११, रौतहटमा २ र सप्तरीमा ५ जनामा हिजो शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार ५२० पुगेको छ । स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । पर्सा वीरगन्जका ५८ र ६१ वर्षका २ पुरुष र सिरहा मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको उनले जनाए । यस्तै, शनिबार उपचारपश्चात् निको भएर ५९ पुरुष र ७३ महिलासहित १३२ जना डिस्चार्ज भएको झाले बताए ।