अशोक पहाडी
रौतहट,१६ भदौ । प्रहरी हिरासतमा रहेका एक थुनुवा सोमबार साँझ फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा गौरस्थित प्रहरी हिरासतमा रहेका गौर नगरपालिका–४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएका हुन् ।
प्रहरीले नेपाल टेलिकम नजिक बनाएको क्वारेन्टाइनमा बसेका यादब शौचालयको झ्यालबाट भागेको प्रहरीले जनाएको छ । गाउकै एक १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई रौतहट प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई सोमबार म्याद थपेर कोरोनाको पिसिआर परीक्षणका लागि प्रहरीले टेलिकम नजिकको एक घरमा क्वारेन्टाइनका रुपमा राखेको प्रहरीले जनाएको छ । पिसिआर रिपोर्ट नआएसम्म प्रहरीले पक्राउ परेकालाई क्वारेन्टाइनको रुपमा कडा सुरक्षामा बाहिर राख्ने गरेको छ । यसअघि पनि जिल्ला कारागारबाट एक कैदी विद्युतको लाइन कटेको मौका छोपेर फरार भएका थिए ।