लालबन्दी,१७ भदौ /
नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासंग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिए । पन्तका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसग ७२ करोड रुपैयाको सम्झौता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको पन्त बताउछन् ।
सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाका दरले टेण्डरमार्फत खरिद गरिएको पन्तले बताए । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ । सम्झौताबमोजिम एन्टी स्नेक भेनम उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले जानकारी दिए । अब असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनले बताए । अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने पन्तले बताए । सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर एन्टी स्नेक भेनम बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने उनले योजना सुनाए । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने एन्टी स्नेक भेनम सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले एन्टी स्नेक भेनम उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसंग निर्भर हुनु परिरहेको छ ।