गरुडा, १८ भदौ । रौतहटमा भएको पुजारी हत्या काण्डमा संलग्न २ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं— १ करुनिया बस्ने वर्ष ३६ का नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठाँउका वर्ष २८ का बाल कुमार पटेल रहेका छन् । रौतहटको माधवनारायण नगरपालिका वडा नं.—२ खेसरहिया चौक स्थित हनुमान मन्दिरका पुजारीको हत्यामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
अन्दाजि ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राती ९ बजे अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेका थिए । राम नरेश र बाल कुमारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई नगरपालिका वडा नम्बर ७ वडकी बंकुल एरियाबाट बुधवार बिहान पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा उनीहरुले अपराध स्वीकार समेत गरेको प्रहरीले जनाएका छन् । अनुसन्धानबाट राम नरेश राउत पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवतजावतलाई निगरानी गरेको खुल्न आएको छ । राम नरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको उनको हत्या गरिएको खुलेको छ । घटना हुनु भन्दा ३ दिन अघि राम नरेश पटेल र पुजारीबीच विवाद समेत भएको प्रहरीले बताएको छ । गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेललगायत अन्य सँग धेरै पटक वादविवाद भएको थियो । यस घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कायाृलय रौतहटले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here