शंकर पहाडी
सर्लाही,२३ भदौ । रौतहटमा ७० प्रतिशत र सर्लाहीमा २० प्रतिसत मुअब्जा बिवाद कायमै रहेको भएपनि रेल मार्ग निर्माणको काम भने धमाधम भईरहेको छ ।
सरकारले पहिला मुअब्जा बिवाद सल्टाएर काम गराउनु पर्नेमा मुअब्जाको कुरा थांती राखेर रेलमार्ग निर्माणको काम निषेधाज्ञामा समेत जारी राखेको छ । मुआब्जा विवादका कारण संघर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम शुरु हुन नसकेको बताइएकोे छ ।
लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करीब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिए । उनका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गका बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नका लागि करीब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ । रेलमार्गका काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए । उनले सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेका कारण समाधानमा धेरै समय लागेको बताए । बर्दिबासमा मुआब्जाको र जंगलको रुख कटानको विवादले गर्दा काम शुरु हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । सरकारले गत असार, साउन र यही भदौ तीन महीना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अरु काम निरन्तर भइरहेको कम्पनीले बताएको छ ।
रौतहट जिल्लाका बिभिन्न स्थानमा आफ्नो जमिन रेलमार्गमा परेकाहरुले अहिले सम्म मुअब्जा आउन नसकेको भएपनि रेलको काम भने भईरहेको छ ।