जनकपुर, २५ भदौ । काठ तस्करीको आरोेपमा प्रहरीले मुसहर समुदायलाई धरपकड गर्न थालेपछि धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरका मुसहर वस्ती यतिखेर सुनसान छ । बस्तीमा बालबालिका र वृद्धा मात्रै भेटिन्छन् । बस्ती नजिकैबाट बग्ने औरही खोलाबाट खनेर ल्याएको सालको काठ बिक्री गरेपछि प्रहरीले उक्ता काठ नियन्त्रणमा लिन खोज्दा गएको आइतवार राति स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा दुइ जना प्रहरी र तीनजना स्थानीय घाइते भएका थिए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने अझै केही व्यक्तिको खोजीमा जुटेको छ । प्रहरीले आफूहरूलाई पनि पक्राउ गर्ने त्रासले वयस्क पुरुष र महिलाले तीन दिनदेखि गाउँ छोडेका छन् । जसका कारण बालबालिका र पशु चौपाया भोकभोकै छन् । सादा पोसाकका प्रहरीले मागेको दुई हजार रुपैयाँ दिन अस्वीकार गरेपछि विवाद चर्केको स्थानीय बताउँछन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोसाकमा आएका असइ बुलेन्द्र गरी र प्रहरी जवान प्रकाश चौधरीले सालको काठ बेच्दा दुई हजार रुपैयाँ माग गरेको उनीहरूको आरोप छ । इप्रकाका निमित प्रमुख प्रहरी नायब निरीक्षक मोहम्मद मुस्तुफाले भने पैसा मागेको आरोप निराधार रहेको दाबी गरे । पैसा माग्दा मुसहर युवाहरूले ‘किन पैसा दिने’ भन्दै प्रतिकार गरेपछि मद्दतका लागि प्रहरी बोलाएका थिए । प्रहरी टोलीले काठ नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गर्दा प्रहरी निरीक्षकसहित ५ प्रहरी घाइते भएका थिए । सोही झडपको विषयलाई लिएर प्रहरीले स्थानीय दुई महिलासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here