जनकपुर,२६ भदौ । रौतहट सहितका तराई मधेसका जिल्लामा मनाइने जितिया पर्व सम्पन्न भएको छ । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् ।
सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।
अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।