चन्द्रपुर,३० भदौ / रौतहटका केही स्थानीय तहले कोरोना नियन्त्रणमा नगरपालिकाले गरेको खर्च सर्वजनिक गर्न थालेकाछन् । उनीहरुको खर्च बिरण अप्रत्यासित रहेको भन्दै समाजिक संजालमा चर्को बिरोध समेत हुन थालेको छ । जिल्लाका दुई स्थानीय तहले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भएको खर्च विवरण सार्वजनिक गरेको छन् । मौलापुर र गुजरा नगरपालिकाले खर्च विवरण सार्वजनिक गरेको हो । मौलापुर नगरपालिकाको आर्थिक प्रशासन शाखाले आइतबार एक सूचना प्रकाशन गरी खर्च विवरण सार्वजनिक गरेको छ । क्वारेन्टिन निर्माण, व्यवस्थापन तथा संचालन खर्चमा २५ लाख ३९ हजार पाच सय २४ रुपैया र १ हजार ३ सय २६ घर परिवारलाई पहिलो चरणको राहत वितरणमा १४ लाख ४० हजार रुपैया खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । त्यसैगरी दोस्रोे चरणामा ४ हजार १ सय घर परिवारलाई राहत वितरण गर्दा ४५ लाख १२ हजार चारसय रुपैयाँ,कोरोना संक्रमण रोकथाम सम्वन्धी औषधी तथा सुरक्षा सामग्री खरिदमा २० लाख १७ हजार ६ सय १९ र एम्वुलेन्स भाडा, बस भाडा, सूचना प्रशारण लगायतका विविध खर्चमा ३ लाख २२ हजार २ सय ५५ खर्च भएको सूचनामा उल्लेख गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा राहत वितरणमा गरी मौलापुर नगरपालिकाको कुल १ करोड ८ लाख ३१ हजार ७ सय ९८ रुपैया खर्च भएको मेयर रिनाकुमारी साहले जानकारी दिइन् । नगरपालिकाका अनुसार प्रदेश सरकारबाट प्राप्त अनुदान सहितको जम्मा रकम सार्वजनिक गरिएको हो । यस्तै गुजरा नगरपालिकाले पनि खर्च विवरण सार्वजनिक गरेको छ । गुजरा नगरपालिकाले कोरोना नियन्त्रण राहत, कर्मचारीहरुको बिमा तथा जोखिमभता लगायत शीर्षकमा कुल ५ करोड, २४लाख, ४७ हजार, दुईसय ६७ रुपैया ५६ पैसा खर्च भएको जनाएको छ । यसैबीच कारोना भाइरस नियन्त्रण र जोखिम व्यवस्थापनमा अन्य स्थानीय तहले भने हालसम्म विवरण सार्वजनिक गरेका छैनन् । रौतहटमा १८ स्थानीय तह रहेको छ । गुजरा नगरपालिकाले आफ्नो खर्च बिबरण सार्बजनिक गरेपछि सो नगरपालिकाको बिषयमा समाजिक संजालमा चर्को आलोचना भएको छ । कोरोनाको नाममा रौतहटका स्थानीय तहले गत आर्थिक बर्षको बजेट सहजै सकेको भन्दै स्थानीय स्तरबाट चर्को आलोचना भएको छ । २०७७ भदौ ३० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।