गरुडा,९ असोज / किसानले रौतहटको गरुडामा रहेको देशकै सबैभन्दा ठुलो श्रीराम सुगर मिल्स संचालनमा ल्याउन माग गरेकाछन् । श्रीराम सुगर मिल्सका सञ्चालकहरुले किसान संग छलफलनै नगरी मिल्स बन्द गरेकोले सञ्चालनमा ल्याउनु पर्ने माग किसानले गरेका छन । हाल मिल्स बन्द अबस्थामा रहदा समेत सञ्चालनतर्फ कसैले पहली कदम नचालेकाले संघर्षका कार्यक्रमसहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ उखु उत्पादक संघ रौतहटले बुधबार ज्ञापन पत्र बुझाएको छ । मिल बन्द भएपछि सो मिलका कामदारहरुको परिवार बिचल्ली हुनुका साथै किसानले पाउनु पर्ने भुक्तानी रकम समेत मिलले भुक्तानी नगरेको भन्दै मिल संचालनको माग गरिएको हो ।
मिल्स सञ्चालक र उखु किसानबिच भएको सहमति अनुसार गत चैत्र मसान्तसम्म दिनु पर्ने भुक्तानी अझै बाकी रहेको र श्रमिक मजदुरको उपदान , क्षतिपुर्ति तथा सञ्चयकोष समेत हालसम्म उपलब्ध नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उखु किसानहरुले मिलबाट पाउनु पर्ने ४१ करोड ३ दिनभित्र पाउनु पर्ने , उद्योगबाट पाउनु पर्ने उपदान , क्षतिपुर्ति तथा सञ्चयकोष रकम तत्काल उपलब्ध गराउनु पर्ने र उखु किसान , उद्योगपति र नेपाल सरकारको समन्वयमा मिल पुन सञ्चालनमा ल्याउनु पर्ने उखु उत्पादक संघ रौतहटले माग गरेको छ । यी मागहरुलाई २०७७ असोज ९ गतेसम्म सुनुवाइ नभएमा १० गतेबाट आन्दोलनका कार्यक्रम समेत गर्ने जनाएको छ ।संघको मागहरु प्रति बेवास्ता गरे १० गतेबाट सडक संघर्षको कार्यक्रमसमेत ज्ञापन पत्रमार्फत नै सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रम अनुसार १० गते शनिबार दिउसो १ बजेदेखि २ बजेसम्म १ घण्टा श्री राम सुगर मिल्स अगाडी राजमार्ग बन्द गर्ने , ११ गते आइतबार १ बजेदेखि ३ बजेसम्म २ घण्टा चक्का जाम गर्ने र १२ गते सोमबार १ बजेदेखि ४ बजेसम्म ३ घण्टा चक्का जाम गर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ । सोही दिन कडा संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गर्ने उखु उत्पादक संघ रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here