पर्सा, १४ असोज । लकडाउन अवधिको विधुत महसुल जरिवाना छुटको माग राख्दै नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि धर्ना र विरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कमिटीको अगुवाईमा संघीय सांसद प्रदीप यादवसहित प्रदेश सांसद जन्नत अन्सारी धर्नामा बसेका हुन् । उनीहरुसँग पार्टीका नेता कार्यकर्ता पनि एक घण्टा धर्नामा बसेका थिए। लकडाउन अवधिभरको विधुत महसुल बढि लिन नपाइने भन्दै धर्ना एवम विरोध प्रदर्शन गरिएको प्रतिनिधिसभा सदस्य यादवले बताए। सांसद यादवले लकडाउन समयमा जरिवानासहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता, लोडसेडिङ अन्त्य र उचित पार्किङ व्यवस्था गर्नुपर्ने मागसहित धर्ना दिइएको बताए। धर्नापछि वितरण केन्द्र प्रमुखलाई भेटेर यथाशीघ्र समस्या समाधान नगरिए बिलिङ शाखामा तालाबन्दी गर्ने चेतावनी दिएको उनले जानकारी दिए ।