जनकपुर, २३ असोज । प्रदेश नम्बर २ का ११ जना प्रदेशसभा सदस्यको तलब रोक्का भएको छ । प्यान नम्बर नलिएका कारण ती प्रदेशसभा सदस्यको तलब रोक्का भएको हो । तलब बुझ्नका लागि प्यान नम्बर अनिवार्य हुनुपर्ने व्यवस्था भएपछि प्यान नम्बरको अभावमा प्रदेश २ का ११ प्रदेशसभा सदस्य र प्रदेशसभा सदस्यहरुका ६७ जना स्वकिय सचिवले तलब बुझ्न सकेका छैनन् । प्यान नम्बर बुझाउन नसकेका प्रदेशसभा सदस्यहरु गत साउन महिनादेखि नै तबल बुझ्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । नियुक्ति, बैंक खाता र प्यान नम्बर बुझाउन नसकेका ६७ जना प्रदेशसभा सदस्यका स्वकिय सचिवहरु समेत तलब बुझ्न नसकेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जानकारी दिए । वित्तिय अनुशासन कायम गर्नका लागि संघीय सरकारले गत जेठ १५ गते वित्तिय शासन व्यवस्था लागु गरेपछि तलब बुझ्नका लागि व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको हो । सरकारी तलब बुझ्ने व्यक्तिका लागि नियुक्तिपत्र, बैंक खाता र व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको थियो । प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले भने ‘माननीय जीहरुको तलब बुझ्ने व्यवस्था मिलाउनका लागि डकुमेन्टहरु जम्मा गरिरहेका छौँ, प्रकृया पूरा गरेर चाँडै नै बाँकी रहेका माननीय जीहरुको तलब उपलब्ध गराइने छ । यता गत असार ३१ ग्तेपछि बस्न नसकेको प्रदेश २को प्रदेशसभा बैठक असोज २५ गते बस्ने भएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सबै व्यवस्था मिलाएर असोज २५ गतेका लागि बैठक डाकिएको निमित्त सचिव यादवले बताए ।