गरुडा,२५ असोज । रौतहटको श्रीराम सुगर मिल्सबाट पारिश्रमिक भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । श्रीराम सुगर मिल्सले ११ साउन २०७७ सूचना प्रकाशन गरी सधैँको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । योसँगै आफूहरूले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरू मारमा परेको सचिव यादवले गुनासो गरे । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैँअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलबरभत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दसैँअगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।