गौरा,३० असोज ।
रौतहटको गढीमाई नगरपालिका नं–४ मा दुई साताअघि एक बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४५ वर्षीय चुनु शाह तेलीलाई पक्राउ गरेको छ ।
गत असोज १६ गते हत्या गरिएकी सम्झा साहको हत्यामा आरोपमा शाह पक्राउ परेको हो । असोज १६ गते साझ स्थानीय उखु खेतमा १४ वर्षीया बालिकाको शव भेटिएको हो । प्रहरीका अनुसार ती बालिका सोही दिन बिहान गाईबस्तुका लागि घांस पात लिन घरबाट निस्किएकी थिइन् । प्रहरीका अनुसार बालिका मामा घरमा बस्दै आएकी थिइन् । उनका बाआमा गढीमाई–१ मा बस्ने गर्छन् । बलात्कृत भएपछि बालिकाले घटनाबारे अरुलाई भनिदिने बताएपछि तेलीले उनको हत्या गरेको प्रदेश–२ प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीका अनुसार मृतक बालिका तेलीको छोरीकी साथी हुन् । ती बालिका तेलीको घरमा आइरहन्थिन् । यसअघि गत महिना बाजुरामा पनि १२ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको थियो ।