वीरगञ्ज,३० असोज । वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा प्रशासनले छापामारी गरेको छ । लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा प्रशासनले छापामारी गरेको हो । बिहीबार राति करिब पौने ९ बजेको समयमा गरिएको छापामारीको क्रममा निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो । वडा प्रहरी कार्यालय विर्ताको सहयोगमा नियन्त्रणमा लिइएका कर्मचारीहरुलाई बोलाएको समयमा हाजिर हुनेगरी छाडिएको छ । लेखापढी कानुन व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ । लेखापढी व्यवसायीहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम साह, रवीभुषण प्रसाद पटेल वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा छन् । कार्यालयको निर्धारित समय सकिएपछि पनि बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलयमा गैरकानुनी ढंगबाट अवैध काम भइरहेको सूचनाको आधारमा छापामारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । अनलाइनखबरबाट