सर्लाही,९ कार्तिक । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो । राजमार्ग, खोला, नदी, वनजंगल, विद्यालय, धार्मिकस्थल र बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराउन निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । जिल्लाका धेरै स्थानमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन हुँदै आएको स्थानीयवासीबाट गुनासो आएको र अनुगमनका क्रममा मापदण्ड विपरीत रहेको पाइएका कारण जिल्लामा रहेका १६ क्रसर उद्योगलाई बन्द गरिएको प्रजिअ पौडेलले बताए ।
घरेलु तथा साना उद्योगमा दर्ता भएका १६ क्रसर उद्योगमध्ये हाल आठ उद्योग सञ्चालित छन । ती उद्योग मापदण्ड नपुगेका र नवीकरण नगरी सञ्चालन गरिएका कारण बन्द गराउनुपरेको जनाइएको छ । वाग्मती, हरिपुर, लालबन्दी, फुलजोर, ईश्वरपुर, बसवरियालगायत स्थानका क्रसर उद्योगले अहिले प्रशासनको अनुरोधलाई बेवास्ता गरी पुनःसञ्चालन गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक, राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था, ठूला नदी, पुल, धार्मिकस्थल, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र संकलन गर्ने गराउने कुनै पनि कार्य गर्न पाइँदैन । जिल्लामा मापदण्ड विपरीत वनजंगल, नदी किनार, गाउँबस्ती र विद्यालय नजीकसमेत क्रसर संचालन गरेको पाइएको छ । त्यसैले क्रसर उद्योग सञ्चालकलाई बोलाएर उद्योगको कागजात लिई वैधानिकताबारे पुष्टि गर्न र पुष्टि नहुँदासम्म क्रसर सञ्चालन नगर्न आग्र्रह गरिएको प्रजिअ पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here