सर्लाही,१६ कार्तिक ।
सर्लाहीको एउटा स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या अत्यन्त न्युन हुँदा शिक्षण सिकाइ क्रियाकलापमा गम्भीर प्रभाव परेको पाइएको छ । रामनगर गाउँपालिकामा विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या दश हजारभन्दा बढी रहेको भए पनि ४२ शिक्षक मात्र रहेको शिक्षा शाखा संयोजक रामपवित्र साहले जानकारी गराएका छन् । 
गाउँपालिकामा दुईवटा माध्यमिक विद्यालय रहेका छन्, तर स्थायी शिक्षक दरबन्दी एउटा पनि छैन। चारवटा राहत दरबन्दीको भरमा दुईवटा माध्यमिक विद्यालय सञ्चालित छन् । यसैगरी गापामा तीनवटा निम्न माध्यमिक तहको विद्यालयमा दुई राहत र चार स्थायी दरबन्दी गरी जम्मा छ दरबन्दीमा शिक्षक कार्यरत छन् । गापाभित्र ११ प्राथमिक विद्यालयमा ३२ शिक्षक कार्यरत छन् । गापामा प्राथमिक तहका आठ दरबन्दी रिक्त रहेको शिक्षा संयोजक साहको भनाइ छ ।
विद्यालयहरूमा विद्यार्थीको चाप अत्यधिक रहेको तथा विद्यार्थी–शिक्षक अनुपात नमिलेकोले एकातिर कक्षा व्यवस्थापनमा समस्या भएको र अर्कोतिर शिक्षण–सिकाइ क्रियाकलाप प्रभावकारी हुन नपाउँदा गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित हुनुपरेको संयोजक साहको दाबी छ । 
गाउँपालिकाले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक सामग्री, भौतिक पूर्वाधार तथा पठनपाठनमा सुधार ल्याउन व्यापक लगानी गर्दै आएको छ ।
स्वयम् सेवक शिक्षक राख्न गापाले वर्षेनी ३० देखि ४० लाख रुपैया संस्थागत अनुदान विद्यालयहरूलाई उपलब्ध गराउने गरेको गाउपालिका अध्यक्ष कृष्णप्रसाद वर्माले बताएका छन् । अत्यन्त न्युन तलबमा विद्यालयहरूले दुई दर्जनभन्दा बढी स्वयम् सेवक शिक्षक राखेर काम चलाइरहेको संयोजक साहको भनाइ छ । गापामा शिक्षकको अत्यधिक अभावका बिच पनि शिक्षकहरूको लगन र परिश्रम सराहनीय रहेको साहको दाबी छ । 
थप दरबन्दीको लागि गाउपालिकाले सम्बन्धित निकायमा पटकपटक लेखी पठाएको भए पनि अहिलेसम्म कतैबाट कुनै सकारात्मक पहल नभएकोले आन्तरिक व्यवस्थापनमा निकै कठिनाइ झेल्नुपरेको साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here