अशोक पहाडी , चन्द्रपुर,१८ कार्तिक । रौतहटको बलेरी वनमा जंगलबाट काठ चोरेर ल्याउदै गरेको अवस्थामा स्थानीयले काठ समातेर काठ लिन बोलाउदा समेत वन कर्मचारी नगएपछि स्थानीयले वन कर्मचारी माथि हातपात गरेकाछन् ।
३ वटा साईकलमा गोलाइ ल्याउदै गरेको अवस्थामा स्थानीयले उनीहरुलाई पक्राउ गरेर वनमा बुझाउनका लागि बोलाउदा समेत वन कर्मचारी नआएपछि आक्रोसित स्थानीय बासिन्दाले बलेरीमा रहेको वनको कार्यालयमा गएर कर्मचारीलाई हातपात गरेका हुन् । केही अराजकले वन कर्मचारी माथि हातपात गरेको खबर आएको छ ,त्यसको बारेमा मंगलबार आज कुरा हुन्छ डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सोन्फी पासवानले बताए ।
स्थानीय युवाहरुको समुहले बलेरीको वनमा वन कर्मचारीकै मिलेमतोमा ब्यापक रुपमा काठ चोरी तस्करी गरेको र त्यसको नियन्त्रणका लागि बृन्दावन सव वन डिभिजन कार्यलयका कर्मचारीलाई पटक पटक भन्दा समेत वास्ता नगरेको स्थानीय बासिन्दा संजिव पटेलले जानकारी दिएकाछन् ।
सो वन क्षेत्रमा सर्लाही र रौतहटका काठ तस्करले बिगत लामो समय देखी वनमा चोरी तस्करी गर्दै आएको स्थानीयको भनाइ रहेको छ । यता सो क्षेत्रका वन कर्मचारीले स्थानीय युवाहरुलेनै समुह बनाएर वनमा चोरी तस्करी गर्दे आएको बताउदै आएकाछन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले सो क्षेत्रको वनमा हुने चोरी तस्करीका लागि वन कर्मचारी दिनरात खटिरहेको बताएकाछन् ।
बलेरीको वन क्षेत्रमा संगठित रुपमा काठ चोरी तस्करी गर्नका लागि सर्लाही र रौतहटका युवाहरुको समुहसंगै आधा दर्जनको संख्यामा महिलाहरु समेत सक्रिय रहेको बलेरीका एक स्थानीयले जानकारी दिएकाछन् ।
स्थानीयले बलेरी वनमा कार्यरत सशस्त्र वन रक्षक कम्रे आलमको सरुवाको माग समेत गरेकाछन् । डिभिजन वन कार्यलयले भने पहिले कार्यरत कर्मचारी त्यहांबाट हटाएर राम्रा मान्छे सो स्थानमा पठाएको दाबी गरेको छ । २०७७ कार्तिक १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।