गौर,२० कार्तिक । रौतहटका विभिन्न स्थानमा रहेका राष्ट्रिय तथा सामुदायिक वन हरुबाट हुनेगरेको काठ तस्करीको बारेमा जिल्ला प्रशासन कार्यालय रौतहटले चासो देखाएको छ ।
रौतहटको वृन्दावन, गुजरा, चन्द्रपुर लगायतका विभिन्न स्थानहरुका वनहरुबाट तस्करहरुले कांचा रुखहरू काटेर त्यसलाई गोलिया बनाई साइकल तथा मोटरसाइकलको माध्यमद्वारा तस्करी गरिरहेको समाचार लामो समयदेखि तराई एक्सप्रेस दैनिक लगाएत बिभिन्न सञ्चार माध्यमबाट प्रशालन तथा प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले डिभिजन वन कार्यालय रौतहटलाई पत्राचार गर्दै सो बारेमा सत्यतथ्य खुलाउन निर्देशन दिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा हस्ताक्षरित सो पत्रमा तस्करीको अवस्थाबारे यथार्थ खुलाउन भनिएको छ । रौतहटको जंगलमा तस्करको रजगज , साइकल र मोटरसाइकलको प्रयोग गर्दै व्यापक तस्करी भन्ने शीर्षकू बारेमा सत्यतथ्य छानबिन गरी बुझाउन डिभिजन वन कार्यालयलाई भनिएको छ ।
रौतहटको वन संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने भन्दै यहांका जंगलहरुमा तस्करी काठ तस्करी बढिरहेको खबरले आफ्नो ध्यान केन्द्रित भएको र सो विषयमा आफूले चासो देखाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उहांले वन तस्करी रोक्न र वन संरक्षणमा जिल्ला प्रशासन कार्यालय सदैव प्रतिवद्ध रहेको भन्दै यस्ताखाले कुरालाई आफुले गम्भिरताका साथ दिएको बताए ।
जिल्लामा वन फाडेर हुने काठ तस्करी रोक्न डिभिजन वन कार्यालय र यसका मातहतका रेन्ज पोष्टहरू असफल भएको एवम् तस्करसंग वन कार्यालयका मिलोमतो रहेको स्थानीयले आरोप लगाउ“दै आएका छन् । तर डिभिजन वन कार्यालयले भने सो आरोपको खण्डन गर्दै आफुहरुले वन संरक्षणमा उत्कृष्ट कार्य गर्दै आएको दावी गरेको छ ।
वन कार्यालयले वन संरक्षणको दावी गरेपनि जिल्लाको वृन्दावन नगरपालिकाको बलेरी वनको स्थलगत निरीक्षण गर्दा भर्खरै काटिएका कांचा रुखका ठुटा, तस्करले तस्करी गर्न तयार पारेका काठका गोलियाहरु फेला पारेको थियो ।