० तपाइँले रौतहटको एक सार्वजनिक कार्यक्रममा दिनुभएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । त्यस्तो अभिव्यक्ति किन दिनुभयो त ?
– मैले करिब आधा घन्टा जति आफ्नो मन्तव्य दिएको थिए । त्यो मन्तव्यको केही अंशहरुलाई इडिट गरेर केही साथीहरुले एक डेढ मिनेटको फुटेजलाई सामाजिक सञ्जालमा भाइरल गराए । मैले दिएको मन्तव्यको मुख्यतः तीन वटा कुरामाथि साथीहरुले आपत्ति जनाएका छन् । स्थानीय तहको बजेट मेयरको बाउको सम्पत्ति हो र ? भनेर अनिल झाले भन्यो ।
पहिलो कुरा त त्यो कार्यक्रम पार्टीले पालिकास्तरमा आयोजना गरेको कार्यक्रम थियो । त्यसलाई त्यहीं सन्दर्भमा लिनुपर्छ । म यस्तै अन्य राष्टिूयस्तरको कार्यक्रमहरुमा समेत सहभागिता जनाउने गरेको छु र त्यहिस्तरको कुराहरु राख्ने गरेको छु । म पालिकास्तरमा बोलिरहँदा त्यसलाई अन्तर्राष्ट्रियस्तरमा नबुझ्दा पनि हुन्छ । त्यसैले मेरो सम्पूर्ण वक्तव्य जुन पालिकामा कार्यक्रम आयोजना भएको थियो त्यो स्तरको नै थियो । त्यहांका गाउंपालिका अध्यक्षले केही दिन पहिला मेरो लक्षित केही अभिव्यक्ति दिएका थिए । त्यो पालिकामा हाम्रो कार्यक्रम हुंदा त्यस पालिका अध्यक्षको प्रश्नको जवाफ दिनु मेरो बाध्यता थियो । मेरो बारेमा त्यहां लगाइएको आरोपको सन्दर्भमा म कडा रुपमा प्रस्तुत भएकै थिए । त्यसलाई साथीहरुले तोडमडोर गरेर भाइरल बनाएका छन् । तर मेरो पुरै वक्तव्य सुन्नुभयो भने यसको अर्थ अर्कै लाग्छ ।
त्यसैगरी, महिलाको सन्दर्भमा पनि साथीहरुले आपत्ति जनाएका छन् । मैले उदाहरण दिने क्रममा सबै मेयर वा महिला जगतलाई अपमान गरेको होइन । मैले त्यो सन्दर्भमा भनेको पनि होइन । मलाई बदनाम गर्नका लागि यस्तो दुष्प्रचार गरिएको हो । मेरो श्रीमती पनि महिला हुन्, मेरी आमा पनि महिला हुन् र मेरो परिवारमा पनि महिलाहरु छन् । मैले महिलामाथि खराब नियतले किन लाञ्छना लगाउने ?
त्यसैले त्यो सन्दर्भ अलग–अलग थियो, त्यसलाई एक ठाउ“मा अनिल झाले महिला, मेयर र सिंगो विदेशमा काम गर्ने पुरुषहरुको मानमर्दन ग¥यो भन्ने जुन प्रकारले प्रचारबाजी भइरहेको छ त्यो सत्य होइन । मेरो विगत हेर्दा म आफै उद्योगमन्त्री थिए । दुनियाँभरिमा हाम्रा नेपाली युवाहरु कसरी पीडा भोगिरहेका छन् त्यो मैले अनुभव गरेको छु । महिलाहरुको स्थिति के छ भन्ने कुरालाई मलाई थाहा छ । मेरो आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा यी कुराहरुको अवस्था के छ, मलाई राम्ररी थाहा छ । तर, राजनीतिक पूर्वाग्रहीले प्रभावित भएर कुनै जातिविशेषका मान्छेहरुले बढाइँचढाइँ गरी प्रचार गर्ने, त्यसमाथि केही मान्छेहरुको खोजी–खोजी प्रतिक्रिया लिने र त्यो प्रतिक्रियाको आधारमा एउटा विचार बनाउनलाई बाध्य गर्ने मैले देखिरहेको छु ।
तसर्थ, म आग्रह गर्न चाहन्छु कि मैले रौतहटमा दिएको अभिव्यक्ति एक त पालिकास्तरको हो । दोस्रो, त्यो खास परियोजनामा खास प्रकारले भनिएको कुरा हो । महिलाको सन्दर्भमा वा सबै मेयरको सन्दर्भमा भनिएको पनि होइन । एउटा मेयरको सन्दर्भमा पनि मैले त्यहीं शब्दहरु भनेको होइन । त्यो प्रयोग भएको हो, त्यसलाई कहाँबाट काटछाट गरेर राखिएको हो । तर पनि यो सन्दर्भमा कसैलाई चित्त दुखेको, मानमर्दन भएको, पीडा भएको छ भने मेरो त्यो मनसाय थिएन । त्यसप्रति म आफै अत्यन्त दुःखित छु, म दुःख व्यक्त गर्न चाहन्छु ।
त्योभन्दा पनि यदि कसैलाई केही न केही भएको लाग्छ भने उहा“हरुसंग क्षमा पनि हुन चाहन्छु । किनभने म जनताको प्रतिनिधि हुं, जनताले मलाई चुनाव जिताएर पठाएका छन् । म विगत ३० वर्षदेखि जनताको सेन्टिमेन्टको पक्षमा काम गरेको मान्छे हुं ।
जनभावनाको विपक्षमा जाने मान्छे नै होइन ।
त्यसकारणले यदि अनिल झाले धेरै कुकर्म ग¥यो भन्ने कसैलाई लाग्छ भने जनताले दिने जुनसुकै दण्ड, सजाय र जरिमाना सहन तयार छु । १० जनाले मात्रै प्रश्न उठाए पनि म उहाँप्रति क्षमा प्रार्थी छु । मेरो मनसाय त्यो थिएन, तर अलग–अलग प्रसंगलाई बंग्याएर, तोडमरोड गरेर मविरुद्ध भ्रम फैलाउन खोजिएको छ । यसप्रति म अत्यन्तै दुःखित छु । यसलाई त्यहीरुपमा लिन म सबैमा हार्दिक अपिल र आग्रह गर्दछु ।
० तपाइँको अभिव्यक्ति महिलाप्रति लक्षित थिएन त ?
– कुनै पनि हालतमा मेरो आशय महिलालाई अपमान गर्ने थिएन । केही साथीहरुले मेरो एक–डेढ मिनेटको जुन भिडियो क्लिप भाइरल गरेका हुन, त्यसको पूरा भिडियो हेर्नुभयो भने मैले रौटहटको ठेट भाषामा उदाहरणको रुपमा केही भनाइ राखेको थिएँ । त्यसलाई हिन्दी, नेपाली, अँग्रेजीमा अर्कै प्रकारले प्रपोगेट गरेर लेख्ने एउटा विषय हो तर ती चीजहरु मधेशका गाउ“हरुमा चलिरहेकै हुन्छ । तर पनि मैले भने यदि त्यसप्रति कसैलाई पीडा भएको छ भने म आफै दुःखी छु । मेरो त्यो मनसाय पनि होइन । म अर्कै सन्दर्भमा बोलिरहेको थिए । जसरी कतिपय मेयरहरुले जुन बजेट छ उहा“हरुसंग त्यो बजेट त केन्द्र सरकारबाट केन्द्रीय संसदले पारित गरेर दिएको छ । उनीहरुको पालिकाको आम्दानी र आयव्यय कसैले देखाएको पनि छैन । केन्द्रबाट गएको पैसा उनीहरुले खर्च गर्छन् तर भन्छन् सांसदले के दियो ? सांसदले त पारित गरेर पठाएको छ नि । मैले त्यहीं कुरा त्यहां भनिरहेको थिए । मेरो तात्पर्य थियो कि यो त संघीय संसदले नै पारित गरेर पठाएको छ ।
जसरी विदेशबाट कसैले पैसा पठाउ“छ, उ जब विदेशबाट आउ“दा पैसा खोई त भनेर माग्न पाउँदैन । त्यसैगरी एउटा सांसद आफ्नो क्षेत्रमा आउ“दा उसले पैसा माग्न पाउ“दैन । किनभने उसले संसदबाट पारित गरेर उसले पैसा पठाइसकेको छ । अनि सांसदले के ग¥यो, सांसदले प्लाष्टिक दिएन, रासन दिएन, मास्क दिएन भन्न पाईदैन । किनभने जब पोको पारेर करोडौं करोड पठाइसकेको छ भने सांसद फेरि कहां दिन्छ । के कसैले आफ्नो निजी पैसा दिइरहेको छ ? त्यसैले मैले जनतालाई यही कुरा बुझाइरहेको थिए । सांसदले संसदबाट बजेट पारित गरेर पठाइदिएको हुन्छ, त्यहीं पैसा त मेयरहरुले चलाउछन् । त्यो सन्दर्भमा उदाहरणको रुपमा आएका केही चीजहरुलाई तेस्र्याएर, तोडमरोड गरेर प्रोपोगेट गर्नुपर्ने कुनै आवश्यकता नै थिएन ।
० तर, तपाइँलाई गाउँपालिका अध्यक्षले अब यहाँ कार्यक्रम गरेर देखाओस् भनेर चेतावनी दिएका छन् नि ?
– मैले त्यहीं गाउ“पालिका अध्यक्षको गाउ“ र घरकै अगाडि कार्यक्रम गरेको थिए र फेरि कार्यक्रम गर्छु ।
० झडप हुने अवस्था आउला नि ?
– उनी पा“च वटा वडाबाट निर्वाचित नेता हुन् । म ४२ वटा वडाको जनताबाट निर्वाचित नेता हुँ । म शान्तिपूर्ण राजनीतिक गर्दै आएको छु । म हतियार उठाएर वा जनतालाई तर्साएर आएको नेता होइन । ३० वर्ष मिहेनत गरेपछि जनताले मलाई एक पटक भोट हालेका छन् । त्यसैले कसैसँग म डराउने मान्छे होइन । ३० वर्षदेखि मधेश र मधेशीका लागि काम गरेको अनिल झा कुनै गाउ“पालिका अध्यक्ष मात्र होइन संसारमा कसैसंग डराउ“दैन ।
० जसपाको जम्बो केन्द्रीय समिति बनाउनुपर्ने आवश्यकता किन थियो ?
–जसपाको विगतलाई हेर्ने भने १२ वटा पार्टीको एकीकरणबाट बनेको छ । ती पार्टीहरुबाट यदि ७५ जना गरी पनि राखिएको भए ९ सयभन्दा बढी हुन्थ्यो । कसैको पनि केन्द्रीय समिति एक सयभन्दा कम थिएन । त्यसरी पनि १२ वटा पार्टी मिल्दा त १५ सय देखि दुई हजारसम्मको केन्द्रीय समिति हुनुपर्ने अवस्था थियो । विगतका पार्टीहरुलाई एक ठाउ“मा ल्याएर केन्द्रीय समिति बनाइरहँदा राजपाको मात्रै आठ सयभन्दा बढीको थियो । तर दुईटा पार्टीलाई मिलाएर ८०१ सदस्यीय बनाइएको छ । त्यस्तो स्थितिमा एकै पटकमा सानो आकारको बनाउन सक्ने अवस्था थिएन । समय क्रममा त्यसलाई अझ सानो बनाइन्छ ।
० त्यत्रो ठूलो आकारको केन्द्रीय समिति बनाउनुपर्ने बाध्यता थियो ?
– स्वाभाविक हो । मैले त्यसलाई बाध्यताकै रुपमा लिएको छु ।
० एकीकरणका बेला तपाई असन्तुष्ट देखिनुभएको थियो नि त ?
– एकीकरण घोषणा भएको ६ महिनाभन्दा बढी समय भइसक्यो तर कतिपय कुराहरु हामी मिलाउन सकिरहेका छैनौं । त्यो सन्दर्भमा राजपा र समाजवादीको अलग–अलग महाधिवेशन गरौं भन्ने थियो । अहिले जसरी यत्रो ठूलो केन्द्रीय बनाइएको छ, दुवैको महाधिवेशन भएको भए अहिले यस्तो अवस्था आउ“दैनथ्यो । एकता ६ महिना वा वर्षपछि गर्दा पनि हुन्थ्यो । जुन दिन यो एकता घोषणा भयो त्यो दिन म काठमाडौंमा थिइनँ । त्यहीं दिन जनकपुर जा“दै थिए र मलाई महन्थ ठाकुरजीले फोन गर्नुभयो कि कांग्रेससंग मिटिङ छ भनेर ।
मैले भने कांग्रेससंग बैठक छ भने तपाईहरु जानुस्, म जनकपुरतिर लागें भनेर आग्रह गरेको थिए । कांग्रेससँगको बैठकपछि अचानक एकताका लागि बैठक भयो । त्यो बैठक प्रिप्लान्ड थिएन । उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै त्यो बैठक गरेकोले तत्कालै म फर्केर आउन सकिनँ । अर्को कुरा रह्यो सन्तुष्टि र असन्तुष्टिको । राजनीतिमा यस्ता कुराहरु भइरहन्छ । तर राजपा र समाजवादी पार्टी मिल्नै हुंदैन भन्ने कुरा पनि होइन । मिलिसकेपछि समय, परिस्थिति र मधेशी जनताको चाहना पनि त्यहीं थियो । हामी स्थानीय तहको चुनावमा अलग–अलग लड्दा राम्रो परिणाम ल्याउन सकेनौं । त्यसैले हामी भविष्यमा एक साथ जाऔं भन्ने चाहना जनताको थियो । त्यो चाहना बमोजिम नै एकता भएको छ । त्यसलाई अलिकति समय लगाएर अझ परिष्कृत गर्न सकिन्थ्यो । तर वार्ता पनि एक वर्षभन्दा बढी समयदेखि चलेकै थियो । अहिलेको सन्दर्भमा यो एकतालाई ठिकै हो भनेर जानुपर्छ ।
० जसपाको संघीय संसदको संसदीय दलका नेता राजेन्द्र महतोलाई बनाउने सहमति भएको हो ?
– एक वर्षदेखि एकताका लागि चलिरहेको वार्ताको संयोजक राजेन्द्र महतोजी नै हुनुहुन्थ्यो । त्यो वार्ता समितिमा म थिइनँ । एकताका लागि भएको बैठकमा यी कुराहरुको सहमति भएको भन्ने कुरा हामीलाई जानकारी दिइएको थिएन ।
एकताको घोषणाको बेला म यहाँ थिइनँ । तर यदि कुनै पनि चीजको सहमति भएको छ भने त्यसलाई लागू गर्नुपर्छ । यस्तो सहमति भएको हो कि होइन त्यो उहांहरुकै कुरा हो । यस विषयमा कुनै पनि औपचारिक वा अनौपचारिक बैठकमा हामीलाई जानकारी दिइएको छैन ।