गरुडा,९ मंसिर । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले विगतका दिनमा रौतहटमा भएका आधा दर्जन भन्दा बढी व्यक्तिको हत्यारालाई कार्यवाही गर्न माग गरेका छन ।
नेकपाका रौतहटका एक नेताले आफनो व्यक्तिगत स्वार्थ पुर्ति गर्नका लागि विगतका दिनमा आधा दर्जनभन्दा बढी व्यक्तिको हत्या गराएको राज्य मन्त्री यादवले आरोप लगाए । रौतहटको इशनाथ नगरपालिकाको औरैयामा जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री यादवले सत्ता र पावरको आडमा कयौं व्यक्तिको हत्यारा रौतहटमा खुल्याम घुमिरहेको बताए । उनले हत्यार को भन्ने बिषयमा भने नाम खुलाएनन् ।
नेकपा नेता प्रभु साह प्रति लक्षित गर्दे यादवले विगतका दिनमा भएका विश्व हिन्दु परिषद महासंघका अध्यक्ष काशीनाथ तिवारी, अन्तरास्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी, खेसरहियाका शिक्षक सुनिल यादव, पतौराका कृष्ण साह, मनक राय, रामदेव यादव, नथुनी यादव, दोस महम्मद लगाएतका व्यक्तिको हत्या नेकपाका रौतहटका नेताको योजनामा भएको भन्ने कुरा जनताले स्पष्ट बुझिसकेको बताए ।
राज्य मन्त्री यादवले यी सबै व्यक्तिको हत्यारा रौतहटमा खुल्याम घुमिरहेकोले त्यसलाई अविलम्ब नियन्त्रणमा लिई कार्यवाही गर्न सरकारसग माग गरेका छन ।
केहि नेताको अहंकार, जातिय उमाद, अपराधिक गतिविधि, अपराधिक चिन्तन तथा सोचका कारण देश सहित खास गरी रौतहटमा नेकपातर्फ सर्वसाधारण जनताको आकर्षण घटदै गएको राज्य मन्त्री यादवको भनाइ थियो ।
विभिन्न हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र पीडितले न्याय पाउनुपर्ने राज्य मन्त्री यादवले बताए । राज्य मन्त्री यादवले नेकपा प्रदेश २ का अध्यक्षलाई आफनो सरकारले कोरोनामा गरेको खर्च सर्वजनिक गरेर देखाउन चुनौति दिएका छन । राज्य मन्त्री यादवले भने यदि हिम्मत छ भने आफनो सरकारले कोरोनामा गरेको १० अर्ब खर्चको हिसाव किताव लिएर देखाओस अनि म मान्छु, । हिसाव किताव लिए आफुपनि साथ दिने समेत उनले बताए । आफनो सरकार काण्डैकाण्डमा फसेको र चारैतिर भ्रष्टाचारमा नै लिप्द हुदा पनि एक शब्द पनि नबोल्ने नेकपाका रौतहटेली नेताले दिनभरी प्रदेश २ सरकारको बारेमा नै गलत प्रचारबाजी गर्दै हिडनु लजास्पद भएको उनले बताए ।