गौर,१० मंसिर । लामो समय देखिको बन्द रहेको नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको नेतृत्वमा सर्व पक्षीय राजनितिक दलहरुको समर्थनमा शुरू भएको धर्ना कार्यक्रम जारी रहेको छ । निरन्तर रुपमा मंगलबार १३ औ दिनसम्म पनि सिमा नाका खुलाउन माग गर्दै धर्ना कार्यक्रम सञ्चालन भएको नेपाल नागरिक समाज रौतहटले जनाएको छ । सिमा नाका नखुलेसम्म आफुहरुको बिरोध कार्यक्रम नरोकिने समाजले बताएको छ । नेपाल भारत विच सहज रुपमा हुदै आएको आवागमन सीमा बन्द भएको कारण जटिल भएकोले दुवै देशको आम नागरिकको समस्या समाधान गर्नको लागि सीमा नाका खोल्नु पर्ने आवश्यक भएकोले सुचारु गराउन नेपाल सरकार माथि दवाव सृजना गर्ने उदेश्यले नागरिक समाजको अगुवाईमा गौर भन्सार कार्यालयको गेट अगाडी शांन्ति पूर्ण धर्ना कार्यक्रम सञ्चालन गरिएको हो ।
यता जनता समाजवादी पार्टी (जसपा)ले बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ । जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् ।
लामोसयदेखि सीमा नाका बन्द गरिएको कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्ठकर हुंदै गएको जसपाको भनाइ छ । यस्तै जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा पनि गम्भीर समस्या भएको जसपाले जनाएको छ । जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लािग सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सो पार्टीले सरकारसँग माग गरेको छ । कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र ओषधी आदिलाई उचित एवं आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ । विगत नौ महिनादेखि सीमा नाका बन्द रहँदै आएको छ ।