चन्द्रपुर,१४ मंसिर । मालपोत कार्यलय चन्द्रनिगाहपुर र नापी कार्यलय चन्द्रनिगाहपुरको मिलेमतोमा चन्द्रपुर नगरक्षेत्रमा खेती योग् जमिन मनलाग्दी प्लटिङ भइरहेको छ । सरकारले भूउपयोग नीति लागू गरी जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाए पनि खेतीयोग्य जमीन जथाभावी मासिने क्रम अझै रोकिएको छैन । रौतहटको चन्द्रपुर नगरपालिकामा मापदण्ड मिचेर प्लटिङ भइरहे पनि नगरपालिकाको ध्यान यसतर्फ जान सकेको छैन । नगरपालिका कार्यालयले आफ्नो दायित्व पूरा गर्न सूचना मात्र टास गर्ने गरेको स्थानीयको भनाइ छ । तर सूचनालाई अटेर गरी मापदण्डविपरीत प्लटिङ गर्नेलाई तोकिएबमोजिमको कारबाई भने गर्न सकेको छैन । यसलाई न्यूनीकरण गर्न स्थानीय तहले खासै चासो देखाएको छैन । फरक–फरक दलबाट चुनाव जितेर गएका तराईका अधिकांश स्थानीय तहहरूमा जनप्रतिनिधिहरूबीच एकपछि अर्को विवाद र समस्या खडा हुने गरेपछि भविष्यसम्म दूरगामी असर गर्ने खालका विषयलाई सूक्ष्म निगरानी बढाउन सकेका छैनन् । जसले गर्दा नापी, मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा कारोबारीहरूबाट मापदण्डविपरीत काम हुदै आएको छ । पछिल्लो सरकारी नीति अनुसार तराईको हकमा २० फिट चौडा बाटो राख्नुपर्ने भएपनि जग्गा कारोबारीले १२ फिट, १८ फिट चौडाइको बाटो राख्दै ग्राहकलाई झुक्याउदै आएका छन् । कमिशनको भरमा सरकारी र निजी बैंकका कर्मचारीले सहज, सरल ब्याज दरमा ऋण मिलाउने भएकाले राज्यको नीति एकातिर जग्गा कारोबारीको धन्दा अर्कोतिर मौलाएको देखिन्छ ।
नीतिनियमविपरीत काम गर्नेलाई हतोत्साहित गर्ने, कसूर अनुसारको कानूनी कारबाईको लागि पहल गर्ने कार्य नभएकोले जग्गा कारोबारीहरूको मनोबल बढेको छ ।
जग्गा कारोबारीको धन्दा मौलाएर खेतीयोग्य जमीन मासिने क्रम बढेको छ । धान, मकै फल्ने फाँट, खेतबारी अहिले टुक्रा–टुक्रा भइरहेका छन् । केही दिनअघिसम्म चाक्लो देखिएको खेतीयोग्य जमीन प्लटिङले टुक्रा–टुक्रा भएका छन् र यो क्रम बढ्दो छ । बढ्दो शहरीकरणले गर्दा खाद्य असुरक्षा तथा वातावरणमा समेत प्रतिकूल असर परेकोले सरकारले पछिल्लोपटक मुलुकभर लागू हुने गरी आफूखुशी प्लटिङ गरी जग्गा बेच्न नपाइने नीति कार्यान्वयनमा ल्याएको छ । रौतहट जिल्लाको सुगम क्षेत्र मानियको चन्द्रपुर नगरक्षेत्रमा जिल्लाको दक्षिणी भेगबाट जमिन किन्न आउनेको संख्या बढेसंगै धान फल्ने खेतमा कंक्रिट फल्न थालेको समाजसेवी नेपाल कार्कीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here