गौर,१६ मंसिर । जिल्लाको राजदेवी नगरपालिकाले समयमा तलव नदिएर शिक्षकलाई रुवाएको उनीहरुले बताएकाछन् । साउन महिनादेखि आफुहरुले पाउनुपर्ने तलब भत्ता नपाएको भन्दै रौतहटको राजदेवी नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबारदेखि आन्दोलित शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छन् । शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर नियमित कक्षाहरु सञ्चालन गराएका हुन् । कोरोना भाइरसको महामारीको बेला पनि आफुहरुले शिक्षकको धर्म निर्वाह गरेको तर नगरपालिकाले ४ महिनादेखि आफुहरुले पाउनुपर्ने तलब भत्ता नदिएर आफुहरुमाथि अन्याय गरिरहेको शिक्षकहरुको भनाइ छ । ४ महिनादेखि तलब नपाउँदा शिक्षकहरु दैनिकी निकै असहज भइरहेता पनि नगरपालिकाले आफुहरुलाई तलब खुवाउन खासै तत्परता नदेखाएकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको शिक्षक संघर्ष समितिका संयोजक रवि शंकर यादवले बताए ।
दशै, तिहार तथा छठजस्ता महान् पर्वहरु आए गए तर हामीले तलब पाएनौ उहाँले गुनासो गरे, सापट गरेर चाडपर्व मनायौँ तर अब त जीवन धान्न मुस्किल भइसक्यो । तर नगरपालिकाले हाम्रो समस्या बुभ्mन सकिरहेको छैन् । ४ महिनादेखि तलब नपाउदा साथीभाइ तथा आफन्तसग सापटी गर्दै दैनिकी चलाइरहेका अधिकांस शिक्षकहरु घरपरिवारमा कोही बिरामी परिहाले कसरी उपचार गर्ने भन्ने तनावमा छन् । सो नगरपालिकाले हालसम्म नगरसभा गर्न नसक्दा सो नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलगायतले मासिक तलब नपाएका हुन् । नगरसभा नभएकाले उनीहरुले साउन महिनादेखिको तलब पाएका छैनन् । असार १० गतेभित्र गर्नुपर्ने नगरसभा नगरप्रमुख धिरेन्द्र कुमार सिंह तथा उपप्रमुख अंशु सिंहको आपसी विवादका हालसम्म हुन सकेको छैन् । सापटी लिएकाहरुले सापटी फिर्ता माग्न थालिसके, पसलले उधारो दिन छोडिसक्यो अब दैनिकी कसरी चलाउने चिन्ता लिदै विद्यार्थीहरुलाई शिक्षा दिनुपरिरहेको छ एक शिक्षकले दुःखेसो गरे, तर नगरप्रमुख र उपप्रमुखभने आफ्नै जुगाको लडाइमा मस्त छन् । हाम्रो समस्या बुझेर समाधान गर्न कसैको चासो छैन् । यता सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवोध साह नगरसभा नभएकाले तलब खुवाउन नसकेको स्वीकार्दै पुस १ गते नगरसभा गर्ने कार्यक्रम तय भएको र नगरसभा सम्पन्न भएको १० दिनभित्र सबैको तलब भत्ता खुवाउने जानकारी प्रतिबद्दता व्यक्त गरेका छन् । आन्दोलन शिक्षकहरुले आफुहरुको आन्दोलन शान्तिपूर्ण र सांकेतिक हुने जनाउँदै आन्दोलनको कारण विद्यार्थीहरुको पठनपाठनमा भने कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here