ओम प्रकाश यादव, गौर,१८ मंसिर ।
रौतहट प्रहरीले नेपालबाट अबैध रुपमा भारत तर्फ लैजान लागेको १३ वटा गाइवस्तु बुधबार नियन्त्रणमा लिएको छ । जिल्लाको इशनाथ नगरपालिका वडा नं. ९ डुमरियाबाट भन्सार छलीका १३ वटा गाइवस्तु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली, चोरी निकासी तथा पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत प्रहरी चौकी औरैयाबाट खटेको प्रहरीको गस्ती टोलीले बुधबार सांझ साढे ३ बजेको समयमा डुमरियाबाट लौतना तर्फ जाने बाटो हुँदै लगिरहेको अवस्थामा १२ वटा गाइ र एक बाछो गरी १३ वटा गाईबस्तु नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा तस्करहरुले प्रहरी गस्ती टोलीलाई देख्नसाथ गाइवस्तु छोडेर भागेको थियो ।
प्रहरीलाई हेरी तस्करहरुले फरार भएपछि अन्दाजी १ लाख २५ हजार मुल्य बराबरको गाइवस्तु बेवारीसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरिएको गाइवस्तु आवश्यक कार्यवाहीको लागि आजै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहटका प्रहरी उपरीक्षक शिद्धि विक्रम साहले जानकारी दिनुभएको छ ।