अमृत सापकोटा
चन्द्रपुर,१८ मंसिर । कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भए पनि यात्रु नहुंदा यातायात व्यवसायीहरु समस्यामा परेका छन । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गरे पनि यात्रु नहुंदा व्यवसायी समस्यामा परेका छन । जन स्वास्थ्यका मापदण्ड अपनाएर भाडाका यात्रु वाहक गाडी सञ्चालन गर्न सरकारले अनुमति दिइसकेको थियो । बजार, पसल तथा अन्य केही व्यवसाय पहिले कै अवस्थामा फर्किएको भए पनि सिमा नाका नखुल्दा सार्वजनिक यातायातका सेवालाई तंग्रिन थप समय लाग्ने भएको छ । गौर देखि चपुर सम्म पुग्ने छोटो दूरीका बसमा कुनै समय खुबै भीड हुने गर्दथ्यो अचेल भने बसमा त्यस्तो भीड छैन । अहिले दिनभरि गाडी कुदाउदा तेल हाल्ने पैसा समेत नउठ्ने गरेको दुःखेसो एक चालकले गरे । हाल कतिपय मानिसहरू आफूमा पनि कोरोना भाइरसको संक्रमण सर्न सक्ने भन्ने डरका कारण यात्रु वाहक सवारी साधनमा चढ्न छाडेका छन । छोटो दुरिमा बरु तीन पांग्रे अटोरिक्सा रिजर्भ गरेर यात्रा गर्नेको संख्या केही बढेको देखिएको छ । विशेष गरि भारतीय कामदारहरु काठमाडौ काम गर्न जाने भएकाले गौर काठमाडौ रुटमा यात्रीको चाप रहने गर्दथ्यो । गौर काठमाडौ रुटमा धुम ३ रात्री बस चलाउदै आएका दिपक तिमल्सिनाले कोभिड–१९ महामारीका कारण सिमाना बन्द रहेकोले र काठमाडौमा संक्रमित बढेकाले यात्रीको चाप घटेको बताए । सार्वजनिक यातायात खुलेसंगै बैक तथा वित्तीय संस्थाले भने किस्ताको लागि ताकेता गर्न थाले पछि व्यवसायीहरु थप मर्कामा परेको उनको भनाइ रहेको छ । गौर नाकामा नेपाल तर्फ नाका खुलेको भएपनि भारतीय पक्षले नाका नखोलेका कारण सिमामा आवत जावत कमी हुदा गौरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधानमा यात्रुको संख्या घटेको रौतहटका बस ब्यावसायीहरुको भनाइ रहेको छ ।