गरुडा,२८ मंसिर । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैया ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नया“ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैया प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ । लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस बुधबार मन्त्रिपरिषदमा पेश गरिएको थियो । नया मूल्यमा लागत ३८६ रुपैया १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैया ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैया २८ पैसा रहेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । तर सरकारले तोकेको उखुको मूल्यप्रति भने नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीको आरोप छ । चिनीको मूल्य ५८ रुपैया किलो हुंदा किसानले ५३६ रुपैया प्रतिक्वीन्टल उखुको दाम पाएका थिए तर चिनीको मूल्य ९० रुपैया हुंदा ८ रुपैयाले उखुको मूल्य बढाउनु किसान मार्ने खेल हो, मैनालीले भने । उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको पनि मैनालीको आरोप छ । नयां मूल्य स्वीकार नगर्न विभिन्न चिनीमिलहरुसंग छलफल तीव्र पारिएको र सोको घोषणा आज आइतबार गरिने मैनालीले बताए ।