गरुडा,१ पुस । रौतहटमा बाल विवाह गर्न लागेका दुलाहा विवाह गराउन लागेका पण्डित सहित प्रहरी नियन्त्रणमा परेका छन् । जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार राती विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका २२ वर्षीय दुलाहा मुकेश गिरीलाई प्रहरी नियन्त्रण परेका हुन् । उनीसंगै उनका बुबा राम सागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवेलाई प्रहरीले मण्डपबाट विवाह हुंदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख प्रहरी नायव निरिक्षक आमोद प्रकास यादवको टोलीले शिवमन्दिरमा बनेको मंडपबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो । प्रहरीले बालिकाको आमा लक्ष्मी गिरी, सानिआमा गिता गिरीलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । उनीहरूले बालिका र उनीहरूको आफन्तलाई पैसाको प्रलोभनमा पारी विवाह गर्न प्रेरित गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रावलले बताउनुभयो ।
प्रहरीका अनुसार मुकेशले विवाह गर्न लागेकी बालिकाको उमेर अन्दाजी १४–१५ वर्षको मात्र रहेको छ । तर बालिकाको आफन्तले भने उनको उमेर १८ वर्ष रहेको बताउदै आइरहेका छन् । बालिकाको आफन्तले भने बालिकाको घरको आर्थिक स्थिति पनि कमजोर भएकाले उनको बिहे गरेर पठाउन लागेको बताए ।
दुलाहा बनेर विवाह गर्न ठिक्क परेका मुकेशले १२ कक्षा उर्तिण गरेका छन् भने उनी बोल्न र सुन्न भने सक्दैनन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक साहले उनीहरुलाई थप अनुसन्धान पश्चात बाल विवाह अन्र्तगत मुद्धा चलाउने तयारी भइरहेको जनाउदै बाल विवाहजस्तो सामाजिक कुरिती हटाउन रौतहट प्रहरी सक्रिय रुपमा लागि रहेको बताए । मुलुकी अपराध संहिता ऐन २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुंदैन भनेको छ । सो ऐनमा यदि कसैले सो विपरीत भएको विवाह गराएमा सो विवाह स्वतः बदर र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयँसम्म जरिबाना प्रावधान गरिएको छ । रौतहटमा जिल्लामा बाल विवाह एक बढ्दो समस्याको रुपमा देखा पर्दै आइरहेको छ । यहांका गाउंहरुमा बाल विवाहहरु हुने गरिएपनि त्यसको उजुरी प्रहरी सक्षमले कमै पुग्ने गरेका छन् । केटा तथा केटी पक्षको सहमतिमा हुने त्यस्तो विवाहको उजुरी खासै हुने गरेका छन् । बाल विवाह न्यूनिकरणको लागि भन्दै विभिन्न एनजिओ तथा आइएनजिओले वर्षैनी ठुलो रकम खर्च गरेर विभिन्न कार्यक्रम संचालन गर्ने गरेता पनि त्यसको प्रभावकारिता भने सोचे अनुरुप देखिएको छैन् ।