उमेश सापकोटा

संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयां संविधान जारी भए पछि स्थानीय सरकार बनेको तिन वर्ष बितेको र चार वर्षमा टेकेको छ । यो तीन वर्षमा मुलुक कुन दिशातिर अभिमूख भइरहेको छ त भन्ने प्रश्न र जिज्ञासा आम नेपालीमा रहेको छ ।
यसको सूक्ष्म समीक्षा गर्दै आगामी वर्षको यात्रा तय गर्नु स्थानीय तहको यति बेलाको प्रमुख दायित्व हुन आएको छ ।
राजनीति र पत्रकारिता फरक–फरक विधा भए तापनि यी एक आपसमा परिपूरक छन् । राजनीतिका लागि पत्रकारिता अभिन्न साथी हो भने पत्रकारिताका लागि राजनीति सूचना, समाचार र विचारको महत्वपूर्ण स्रोत हो । तथापि यदा कदा हाल नेपाल लगाएत विश्वभरी पत्रकारिता नै राजनिति उथलपुथलको मुल कारण हो भन्न कुनै सङ्कोच छैन ।
सांचो अर्थमा भन्ने हो भने समय क्रममा राजनीतिले अरू सबै कुरालाई आफ्नो मातहतमा ल्यायो । तर यसको पृष्ठभूमितर्फ जाने हो भने मानिस अस्तित्वमा आएपछि बाँच्ने पहिलो आधार त उसले सञ्चारबाटै पायो । जब मानवीय सञ्चार बाँच्ने आधार र जीवन यापनको पहिलो अस्त्र हुँदै गयो, साथै भाषा र लिपिको पनि विकास हुंदै गयो । यसै क्रममा ढङ्गा, काठ, शिलालेख, ताम्रपत्र र कागजपत्रमा मानिसले आफ्ना भावनालाई लिखतको रूप दिन थाल्यो । समयक्रममा पुस्तक, पत्रपत्रिकामा छाप्ने र छपाउने काम हुन थाल्यो । यसरी सञ्चारको विकास हुँदै जाँदा आधुनिक रूप लिन पुगी पत्रकारिता पेसाकै रूपमा स्थापित भयो । मानवीय भाव सम्प्रेषण गर्नका लागि सूचना प्रविधिमा भएको चमत्कारिक परिवर्तनले आधुनिक छापा माध्यम, रेडियो, टेलिभिजन, इ–मेल, इन्टरनेट (अनलाइन) जस्ता नयाँ सञ्चार माध्यमको विकास भयो । यसले विश्वलाई एउटै गाउमा परिणत गरिदिएको छ ।
आम सञ्चार तथा पत्रकारिता राजनीतिको शक्तिशाली अस्त्र बनेको छ । पत्रकारिताको साथ छोड्दा राजनीतिले सफलता प्राप्त गर्न नसक्ने अवस्था रहेको छ । राजनीतिको प्रमुख आधार आम नागरिक र जीवन्त राख्ने सफलताको माध्यम आम सञ्चार तथा पत्रकारिता हुन पुगेको छ । यसलाई कसैले नकार्न नसकिने स्थिति रहेको छ । त्यति मात्र नभएर आमसञ्चार तथा पत्रकारिता मानवीय सभ्यता, संस्कृति, विकास र समृद्धिको महत्वपूर्ण आधार र अपरिहार्य तत्व बनेको छ । अहिलेको विश्वमा जसको हातमा मिडिया छैन, मिडियामा पहुँच छैन, ऊ अत्यन्तै कमजोर मानिन्छ ।
मिडियाको साथ नभएको, नपाएको कुनै पनि धन, सम्पत्ति र दौलत अर्थहीन हुने अवस्था आएको छ । जसले विश्वको आधुनिकतालाई समयमै आत्मसात गरेर अगाडि बढ्न सक्दैन, ऊ आफै स्वतः निषेधित हुन्छ ।
उसको जीवन औचित्यहीन बन्न पुग्दछ । यो कुरालाई आजको युगको मानिसले बुझ्न सक्नुपर्छ । हामीसँग अहिले हातमा केही क्षण मात्र पनि मोबाइल भएन भने कस्तो अनुभूति हुन्छ । यति कुराबाट पनि सञ्चारको महत्वलाई हामीले अनुभूत गर्न सक्छौं ।
नेपालका गाउं–गाउं र दूर दराजमा सूचना प्रविधि र सञ्चारका विभिन्न माध्यमहरू पुगेर त्यसको उपयोग हुन थालेपछि मानवीय चेतनाको तीव्र विकास भएको छ । कुनै बेला मानिसका लागि गास, बास, कपास भन्ने कुरा प्रमुख नाराको रूपमा थियो भने पछिल्लो समयमा मानव जीवनका लागि शिक्षा,स्वास्थ्य, सुरक्षा र सञ्चार धेरै प्राथमिकताका विषय बनेका छन् ।
जसको अभावमा आजको मानिस सभ्य, सुसंस्कृत र सफल जीवन जिउन सक्दैन । यी विषयहरूसँग आर्थिक रूपमा घाटा नाफाको कुरा हुँदैन । जीवनका लागि उपयोग हुन नसक्ने धनको के औचित्य रहन्छ र ? यो कुरालाई अहिलेको युगमा जीवन यात्रा गरिरहेको मानिसले बुझ्न आवश्यक छ ।
राजनीति, अर्थनीति, सभ्यता, संस्कृति, विकास, समृद्धि र शान्ति सार्थक जीवनका लागि अपरिहार्य छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ र आम नागरिकलाई बुझाउन सक्नुपर्छ ।
नेपालमा अहिले सम्मको पुस्ताले राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्यो । एकतन्त्रीय राणाशासनको विरुद्धमा होस्, या राजाको तानाशाही शासनकाल होस्, या केन्द्रीकृत राज्य प्रणाली विरुद्धको संघर्ष होस्, या प्रजातन्त्रको प्राप्ति, लोकतन्त्रको प्राप्ति, संघीयलोकतान्त्रिक गणतन्त्रका लागि भएको संघर्ष होस् या नयाँ संविधान घोषणाका क्रममा गर्नु परेको संघर्ष होस् या स्थानीय तह, प्रादेशिक तह केन्दी्रय सरकार निर्माणको क्रममा गर्नु परेको संघर्ष होस् या जनक्रान्तिबाट प्राप्त भएका सबै प्रकारका अधिकारहरूलाई जनस्तरमा कार्यान्वयनमा लैजाने कुरा होस् सबै सबैमा नेपाली जनताले आन्दोलन नै गर्नु पर्यो र अहिले सम्मको अवधिमा नेपालको जागरुक र सचेत समूहले अधिकार प्राप्तिकै आन्दोलनमा समय व्यतित गर्यो । विकास र समृद्धिका बारेमा गहिरो चिन्तन गर्न सम्म पाएन । भ्याएन ।
मुलुकमा नयाँ संविधान अनुसार केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बने पछि जनतामा आशा र भरोशाको अवस्था सिर्जना हुदै गएको छ । यद्यपि आशंकाबाट मुक्त भने जनता हुन सकेका छैनन् । देशको मेरुदण्डको रूपमा खडा युवाहरूको ठूलो जमातलाइ उचित ब्यावस्थापन गर्न नसक्नुले राष्ट्रियस्तरको समस्यामा रुपान्तरण भएको छ ।
जनतालाई आशा र भरोशाको सञ्चार गर्ने काम यति बेला सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति, सञ्चार संस्था र माध्यमहरूको दायित्व हुन आएको छ । तसर्थ आम सञ्चार माध्यमहरुले साकारात्मक सुचना सम्प्रेषण गर्दै जनता र समाजको समृद्धि तर्फ उत्तरदायी हुनु पर्दछ ।
कुनै राजनीतिक दल वा ब्याक्तीका चाकडिबाज नबनौ, क्यामेरा, ल्यापटप, प्रोजेक्टर,तथा बजेट पाउने आसमा आफ्नो नैतिकताको सान कसैको चरणमा समर्पण नगरौं ।
त्यसैले गाउं–गाउंमा मानवीय समृद्धिको सञ्चार स्थानीय सरकारको महत्वपूर्ण कार्य भार हुनुपर्छ भन्ने सन्देश स्थानिय सरकार र जनप्रतिनिधिहरुलाइ दिन जरुरी छ । विकास र समृद्धिका आधारहरू खोजौं, योजना बनाऔं र त्यसको सफल कार्यान्वयनमा लागौं । आम नागरिकमा आशा र विश्वासको सञ्चार गरौं । हाम्रो समृद्धि नजिकै आउदैछ, प्रतीक्षा गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here