बर्दिबास,१५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको बताएका छन् । यस्ता भूमाफियालाई अविलम्ब कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सुकुमबासीको नाम दिएर राजनीतिक संरक्षणमा वन अतिक्रमण भइरहेको भन्दै यस्तो कार्य सह्य नहुने बताए । विभिन्न बहानामा वन अतिक्रमण भइरहेको छ, मन्त्रालयका अधिकारीलाई निर्देशन दिंदै उनले भने, यो कार्यलाई तत्काल रोक्न र अतिक्रमणमा संलग्नहरुलाई कारबाही गर्नु जरुरी छ । राजनीतिक संरक्षण प्राप्त हुकुमवासीहरु सुकुम्वासीको नाममा वन अतिक्रमण एवं फडानीमा संलग्न रहेको उनले बताए । वनको रक्षा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्ति यसतर्फ गम्भीर बन्दै किन्तु परन्तु नगरी यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुस उनले भने । रौतटह जिल्लामा अतिक्रमित वन क्षेत्रलाई पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान गरियो । पछिल्लो समयमा व्यक्तिको नाममा गइसकेको सिरहा चोहर्वाको तीन बिगाहा र रौतहटको गुजरा नगरपालिकाको १ सय २२ बिघा जग्गा पुनः वनको नाममा आएको छ ।